काठमाडौं । टर्कीको उत्तर–पश्चिम प्रान्त बालिकेसिरमा आइतबार साँझ आएको ६.१ म्याग्निच्युडको भूकम्प गएकाे छ। भुकम्पमा एक जनाको मृत्यु भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु सिन्डिर्गी सहरमा एक ८१ वर्षीया महिलाको मृत्यु भएको बीबीसीले जनाएको छ। भग्नावशेषबाट बाहिर निकालेलगत्तै उनको ज्यान गएको हाे। भूकम्प स्थानीय समयअनुसार आइतबार साँझ ७ बजेर ५३ मिनेटमा आएको थियो ।
भूकम्पका कारण १६ वटा भवन भत्किएका छन् र २९ जना घाइते भएका छन् ।
टर्की तीन ठूला टेक्टोनिक प्लेटको संगमस्थलमा रहेकोले यहाँ बारम्बार भूकम्पीय गतिविधि हुने गर्छ । सन् २०२३ फेब्रुअरीमा आएको ७.८ म्याग्निच्युडको भूकम्पले देशको दक्षिणपूर्वी क्षेत्र ध्वस्त हुँदा ५० हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो । छिमेकी सिरियामा पनि ५ हजार जनाको ज्यान गएको थियो ।

























