काठमाडौं । प्यालेटिनीनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा इजरायल पुगेका छन् ।
विपिनको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन संयुक्त राष्ट्रसंघसम्म लैजाने गरी इजरायल सरकारकाे बाेलावटमा सोमबार इजरायल प्रस्थान गरेका थिए ।
उनीहरुलाई इजरायलको तेलअविवस्थित वेनगुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा इजरायली विदेश मन्त्रालयका अधिकारी, इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, नेपालका लागि पूर्वराजदूत हनान गोदार लगायतले स्वागत गरेका थिए ।
त्यहाँ अन्तर्राष्ट्रिय सञ्चार माध्यमका पत्रकारहरुलाई प्रतिक्रिया दिँदै विपिनकी आमा पद्माले आफूहरु विपिनलाई लिन आएको बताइन्। उनले छोरालाई मुक्त गराएर घर पठाइदिन अनुरोध समेत गरिन्।
विपिनकी बहिनी पुष्पाले आफुहरुको कसैसँग दुश्मनी नभएको भन्दै विनाकारणा नराख्न आग्रह गरिन ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भासी घर भएका विपिन जोशी कृषि विषयमा ‘पढ्दै कमाउँदै कार्यक्रम’का लागि इजरायल गएका थिए । हमासले ७ अक्टोबर २०२३ मा इजरायलको किबुजमा आक्रमण गरेदेखि विपिन सम्पर्कमा छैनन् । सोही घटनामा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने हमास लडाकुले विपिनसहित २५१ जनालाई बन्धक बनाएका थिए ।
























