२८ साउन, काठमाडौं । बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुसमेतको प्रभावले मनसुन सक्रिय भएको छ। बर्षा
मंगलबारदेखि सक्रिय भएकोमा आज पनि अधिकांश स्थानमा मध्यमदेखि भारी र अति भारी वर्षाको सम्भावना छ । विहीबार बिहानदेखि भने तुलनात्मक रुपमा पानी पर्न कम हुने बताइएकाे छ ।
मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकाले मनसुन सक्रिय भएको हाे। यसकाे प्रभावले गत २४ घण्टामा देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ ।
२४ घण्टामा सबैभन्दा धेरै वर्षा झापाको बर्फल्याङ वर्षा मापन केन्द्रमा सबैभन्दा धेरै १२६.४ मिलिमिटर र अनारमनी बिर्तामा १२०.४ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी केचनामा ९५.२, शनिश्चरेमा ९०.२, सिस्ने अर्जुनधारामा ८८.६, बाहुनडाँगीमा ७७, चन्द्रगढी एयरपोर्टमा ६५, कन्काइमा ५५ र दमकमा ३२ मिलिमिटर वर्षा भएको छ ।
इलामको इलाम टि–स्टेटमा सबैभन्दा धेरै ८९.२ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी जितपुरमा ६३, हिमाली गाउँमा ५५.६ र कन्याममा ५५ मिलिमिटर वर्षा मापन भएको छ ।
पछिल्लो एक घण्टामा सबैभन्दा धेरै वर्षा पश्चिम नवलपरासीको परासी र बर्दघाट तथा कास्कीको पस्याङखोला केन्द्रमा भएको छ । परासीमा एक घण्टामै २६.२ मिलिमिटर र बर्दघाटमा १०.८ मिलिमिटर वर्षा मापन भएको छ । पस्याङखोलामा १४ मिलिमिटर वर्षा मापन भएको छ ।
आज बिहान बागमती प्रदेशसहित काठमाडौं उपत्यकामा समेत केही घण्टासम्म मध्यम वर्षा हुने बताइएकाे छ।
मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । यसैगरी कर्णाली प्रदेशको एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ । यसैगरी आज राति पनि सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा हुने प्रक्षेपण छ । लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानहरू, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी पनि वर्षाको सम्भावना छ । बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा भने मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।


























