काठमाडौं । सर्वोच्च अदालतले २०६३ सालमा रौतहटको गौरमा भएको हत्याकाण्डको अनुसन्धान अघि बढाउन आदेश दिएको छ। सोमबार न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको संयुक्त इजलासले सुनुवाइ गर्दै सरकारी वकिलको कार्यालय रौतहट तथा जिल्ला प्रहरी कार्यालय रौतहटलाई अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको हो।
माओवादी कार्यकर्ता त्रिभुवन साहले दायर गरेको रिटमा गौर घटनामा तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष तथा हाल जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष र पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवमाथि समेत अनुसन्धान गर्न माग गरिएको थियो।
२०६३ चैत ७ गते तत्कालीन नेकपा माओवादी र मधेशी जनअधिकार फोरमबीचको विवाद चर्किदा गौरस्थित राइस मिलको चौरमा भएको आक्रमणमा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए भने सयभन्दा बढी घाइते भएका थिए ।
























