चार अर्ब भ्युज पाएको हनुमान चालिसा सबैभन्दा बढी हेरिएको भारतीय संगीत

काठमाडौं। ‘हनुमान चालिसा’ भजन युट्युबमा सबैभन्दा धेरै हेरिएको भारतीय संगीत बनेको छ । यो गीतले ४ अर्ब ८४ करोड भन्दा बढी भ्युज पाएर युट्युबमा सबैभन्दा धेरै हेरिने भारतीय गीतको रेकर्ड कायम गरेको छ । गायक हरिहरनको स्वर रहेको र गुलशन कुमारको अभिनय रहेको हनुमान चालिसालाई हिन्दुहरुले पवित्र मन्त्रको रुपमा पनि गाउने सुन्ने गर्छन् । ललित सेन र चन्दरको संगीत रहेको यो भजन सन् २०११ मेमा युट्युबमा पोस्ट गरिएको थियो ।

युट्युबमा सबैभन्दा धेरै हेरिएका शीर्ष १५ भारतीय गीतहरूको सूचीमा हिन्दी, हरियाणवी र पञ्जाबी भाषाका गीतहरू छन् ।

त्यस्तै, दोस्रो स्थानमा हरियाणवी गीत ‘५२ गज का दामन’ रहेको छ । रेणुका पंवारको मृदुल स्वरमा सुनिने यो गीतले १ अर्ब ७२ करोडभन्दा बढी भ्युज पाएको छ । यस गीतमा प्रांजल दहिया, अमन जाजी र साहिल सन्धुको अभिनय रहेको छ र यसले आफ्नो आकर्षक संगीत र नृत्यका कारण ठूलो सफलता हासिल गरेको हो । २०२० अक्टोबरमा युट्युबमा पोष्ट गरिएको यसमा अमन जाजीको संगीत रहेको छ ।

तेस्रो नम्बरमा ध्वनि भानुशाली र निखिल डीको गीत ‘वास्ते’ रहेको छ । तनिष्क बागचीको संगीतमा २०१९ मा तयार भएको यो रोमान्टिक गीतले १ अर्ब ६१ करोडभन्दा बढी भ्युज पाएको छ ।

त्यसैगरी, राहत फतेह अली खानको ‘जरुरी था’ गीत १ अर्ब ६० करोड भ्युजका साथ चौथो स्थानमा रहेको छ । प्रेम र बिछोडको भावुक कथासँग जोडिएको यो गीत २०१४ मा पहिलोपटक युट्युबमा पोष्ट गरिएको थियो ।

पाँचौँ स्थानमा तमिल चलचित्र ‘मारी २’ को गीत ‘राउडी बेबी’ छ । धनुष र धीको गायन अनि धनुष र साई पल्लवीको अभिनय रहेको यो गीतले १ अर्ब ५८ करोड भन्दा बढी भ्युज पाएको छ । पोएटु धनुषको शब्द रहेको राउडी बेबीमा युवान शंकर राजाले संगीत भरेका छन् । यो गीत सन् २०१९ मा तयार भएको थियो ।

त्यसैगरी, मन्नत नूरको पञ्जाबी गीत ‘लौंग लाची’ १ अर्ब ५४ करोड भ्युजका साथ छैटौँ स्थानमा छ । सन् २०१८ को यस गीतमा अमन जयको संगीत र हर्मनजीतको शब्द रहेको छ ।

जुबिन नौटियालको भावुक गीत ‘लुट गए’ सातौं स्थानमा रहेको छ, जसले १ अर्ब ४१ करोडभन्दा बढी भ्युज पाएको छ । तनिष्क बागचीको संगीत र मनोज मुन्तसिरको शब्द रहेको यस गीतमा इमरान हाश्मी र युक्तिले अभिनय गरेका छन् ।

नेहा कक्कड र टोनी कक्कडको ‘मिले हो तुम’ (रिप्राइज) गीत आठौं स्थानमा छ, जसले १ अर्ब ३३ करोड भन्दा बढी भ्युज प्राप्त गरेको छ । यसमा शब्द र संगीत पनि टोनी कक्कडकै रहेको छ । यो गीत सन् २०१६ मा निर्माण गरिएको थियो ।

त्यसपछि, नेहा कक्कड र ध्वनी भानुशालीको अर्को गीत ‘दिलबर’ नवौं स्थानमा रहेको छ, जसको भ्युज १ अर्ब ३३ करोड भन्दा बढी छ । यस गीतमा जोन अब्राहम र नोरा फतेहीको अभिनय रहेको छ । नोरा फतेहीलाई लाइमलाइटमा ल्याउनमा यो गीतको ठूलो भूमिका रहेको छ । यसमा संगीत तनिष्क बागचीको छ भने शब्बिर अहमद र इक्काको शब्द रहेको छ ।

घेरै हेरिएका अन्य गीतहरूमा क्रमशः मीट ब्रोस र मोनाली ठाकुरको चलचित्र बागीको ‘छम छम’ (१.२५ अर्ब), नेहा कक्कड, कुमार सानु र तनिष्क बागचीको सिम्बा फिल्मको ‘आँख मारे’ (१.२४ अर्ब), गुरु रंधावाको ‘हाई रेटेड गबरु’ (१.२२ अर्ब), शान र आमिर खानको तारे जमीँ पर फिल्मको ‘बम बम बोले’ (१.१५ अर्ब), बी प्राकको ‘फिलहाल’ (१.१४ अर्ब) र रुप कुमार राठौडको रबने बना दि जोडी फिल्मको ‘तुझ मे रब दिखता है’ (१.१४ अर्ब) रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here