३१ भदौ, काठमाडौं । दशैंको समयमा सार्वजनिक सवारीमा कम्तीमा दुई चालक अनिवार्य राख्नु पर्ने भएको छ । चाडपर्वमा यात्रा थप सुरक्षित बनाउने उदेश्यसहित यस्ताे निर्णय गरिएको हाे ।
यातायात व्यवस्था विभागका अनुसार मंगलबार बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो ।
लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने गरी यात्रीबाहेक सार्वजनिक सवारीमा कम्तीमा दुई जना चालक अनिवार्य रूपमा राखी आलोपालो सवारी चलाउने व्यवस्था यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक वा सवारी धनीले मिलाउने निर्णय भएको छ । यसको अनुगमन प्रहरीले गर्ने छ ।
त्यस्तै १८ वर्ष पूरा नभएका व्यक्तिलाई चालकको रूपमा काममा लगाउन नपाइने बताइएकाे छ।
उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रने यात्रुलाई सहजीकरण गर्न नागढुंगा, कलंकी, स्वयम्भू, हलचोक, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, तिलगंगा, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धार तथा काभ्रेको साँगामा सिप्रदी/नाडाको सहयोग र काठमाडौं महानगरपालिकाको सहकार्यमा नागरिक सहायता कक्ष स्थापना गरिने भएको छ ।






















