अर्थतन्त्रको पुर्ननिर्माण, पुनरोत्थानमा निजी क्षेत्रले सरकारसँग सहकार्य गर्ने

काठमाडौं । निजी क्षेत्रले अर्थतन्त्रको पुर्ननिर्माण, नवनिर्माण र पुनरोत्थानमा सरकारसँग सहकार्य गर्ने प्रतिवद्धता जनाएको छ । अर्थमन्त्री रामेश्वर खनालसँगको भएको छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरुले उक्त प्रतिवद्धता जनाएका हुन ।

साे अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आन्दोलनका क्रममा भएको क्षतिको आंकलन गरि पुर्ननिर्माणका लागि सरकारले कोष समेत खडा गरिसकेको अवस्थामा हामी पनि उठदै र सरकारलाई पनि सघाउँदै सहकार्य गर्न तयार रहेकाे बताए ।

अध्यक्ष ढकालले अर्थमन्त्रीलाई अर्थतन्त्र पुनःस्थापना र सुशासन कायम गर्न निजी क्षेत्र र सरकारबीच निरन्तर संवाद संयन्त्र निर्माण गर्न, व्यवसायीलाई आत्मविश्वासका साथ खुला रूपमा व्यवसाय गर्न सक्ने वातावरणको सुनिश्चितता गर्न आग्रह गरे ।

उनले अहिलेको अवस्थामा राजस्व बुझाउने समय थपेर जरिवाना र दण्ड हटाउने व्यवस्था गर्न समेत आग्रह गरे । साे अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रले सामाजिक उत्तरदायित्व अन्तर्गतको रकमबाट पनि पुनरोत्थानमा सहयोग उपलब्ध गराउन सक्ने सुझाए ।

त्यस्तै छलफलमा उनले २०२६ मा नेपाल अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुने तयारीमा रहेको तर यसै पनि तयारी नरहेको अवस्थामा भएको क्षतिले समस्या उत्पन्न हुनसक्ने तर्फ सरकारको ध्यानाकर्षण गराए ।

छलफलका क्रममा आन्दोलनमा प्रभावित व्यवसायीलाई कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण सुविधा प्रदान गर्न, लगानी आकर्षित गर्न आयकर लगायतमा छुट प्रदान गर्न पनि अध्यक्ष ढकालले आग्रह गरे ।

यो अवस्थामा मूल्य अभिवृद्धि कर दर घटाउने वा उपभोग्य वस्तुमा न्यून दर लागू गर्ने, भारतीय पर्यटक आकर्षित गर्न विशेष प्याकेज घोषणा गर्नु उपयुक्त हुने उनले बताए । ‘कर छुट, साना तथा मझौला उद्यमका लागि उत्पादनमा आधारित राहत र सहुलियतपूर्ण कर्जा आवश्यक छ साथै बजेट पुनरावलोकन गरी अनावश्यक शीर्षकको रकम पुनर्निर्माणमा उपयोग गर्न सकिन्छ,’ अध्यक्ष ढकालले भने ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्र पाण्डेले वर्तमान परिस्थतिमा व्यवसायीको आत्मविश्वास मजवुत बनाउँदै पुनःउत्थानमा जुट्नु पर्ने र त्यसको लागि आफुहरु तयार रहेको बताए ।

त्यसैगरी नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाली अर्थतन्त्रमा निजी क्षेत्रको ठूलो योगदान रहको चर्चा गर्दै व्यवसायीको आत्मबल उठाउँदै अघि बढ्नु पर्ने आवश्यकता रहेको बताए ।
नाडा अटोमोबाइल एसोसिएसनका अध्यक्ष करण चौधरीले अटो क्षेत्रमा ठूलो क्षति भएपनि सबै मिलेर पुनरोत्थानको काम गर्नुपर्ने बताए ।

आन्दोलनका क्रममा ठूलो क्षति बेहोरेको भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ्गले आफु अझै पनि निरन्तर लगानी, रोजगारी सिर्जना र राजश्वमा योगदान दिन चाहिरहेको वताए ।

व्यवसायीहरुका सुझावहरुपछि निजी क्षेत्रको साथ लिएरै अर्थतन्त्र सुधारका काम गरिने अर्थमन्त्री खनालले बताए । उनले निजी क्षेत्रको माग अनुसार तत्काल राजस्व विवरण बुझाउने समय एक महीनाा थप गर्ने निर्णय समेत गरेको जानकारी दिए ।

छलफलका क्रममा चालु पूँजी कर्जा मार्गदर्शन कम्तीमा दुई वर्ष स्थगन लगायतका वित्तिय सहुलियत तत्काल दिन सकिने तर्फबाट अर्थमन्त्री खनालको ध्यानाकर्षण गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here