१११ अंक उकालाे लाग्याे सेयर बजार, निर्जीवन बीमामा भने भारी गिरावट

५ असोज, काठमाडौं । अघिल्लो कारोबारकाे दिन ६ प्रतिशत घटेर नेगेटिभ सर्किट ब्रेक लागेको सेयर बजार आइतबार भने उकालाे लागेकाे छ। आज सेयर बजार १११ अंक बढेसँगै नेप्से परिसूचक २६२३ अंकमा कायम भएको छ । अघिल्लो दिन २५११ अंकमा झरेको थियो ।

आज ९ अर्ब १७ करोडको कारोबार भएको छ । २२४ कम्पनीको मूल्य बढ्दा २८ को घट्यो ।

आइतबार निर्जीवन बीमा बाहेकका सेक्टर बढेका छन् । निर्जीवन बीमा भने ४.०२ प्रतिशत घट्यो । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा विभित्र व्यवसायिक प्रतिष्ठान, भवन, निजी घर तथा सवारी साधनमा आगजनी भएपछि निर्जीवन बीमा कम्पनीहरुको दायित्व बढेसँगै यो सेक्टरमा नकारात्मक प्रभाव देखिएको हो ।

आज व्यापार समूह सबैभन्दा धेरै ८.६६ प्रतिशत बढेकाे छ। बैकिङ ४.५२, विकास बैंक ६.०७, फाइनान्स ५.५४, होटल तथा पर्यटन २.३३, हाइड्रोपावर ५.८३, लगानी ७.६८, जीवन बीमा ५.६६, उत्पादन तथा प्रशोधन ४.८५, माइक्रोफाइनान्स ३.६९ तथा अन्य १.५३ प्रतिशत बढे ।

शिवम् सिमेन्ट, जोशी हाइड्रोपावर, सिन्धु विकास बैंक, भूगोल इनर्जी, गुडविल फाइनान्स, अपी पावर, आँखुखोला जलविद्युत्, बलेफी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी विकास बैंक, हिमस्टार ऊर्जा कम्पनी, माथिल्लो तामाकोशी, कर्पोरेट डेभलपमेन्ट बैंक, नेसनल हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, रिडी पावर, सिक्लेस हाइड्रोपावरकाे मुल्य १० प्रतिशत बढेका छन्। ।

यता सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ७.६४, हिमालयन एभरेस्ट इन्स्योरेन्सको ५.६६, राष्ट्रिय बीमा कम्पनीको ५.५९, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ५.०५ प्रतिशत मूल्य घटेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here