७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछाने नख्खु कारागारबाट निस्कनका लागि कारागार प्रशासनले नै पटकपटक फोन गरेर आग्रह गरेको बताएको छ ।
मंगलबार पार्टी केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सहप्रवक्ता प्रतिभा रावलले २४ भदौमा कारागार प्रशासनले बाेलाएकाे बताएकी हुन् ।
‘सुरक्षा चुनौती छ भनेर उहाँहरूले नै अनुरोध गरेपछि, पटकपटक दशौं मान्छेलाई फोन आएपछि उहाँ निस्कनुभएको हो,’ उनले भनिन् ।
‘नख्खु कारागारको लेटरहेड प्रयोग भएर नै पत्र आएको छ । त्यसबारे त हामीले भन्दा पनि उहाँहरूले नै बोल्नुपर्ने होला नि,’ उनले थपिन ।
त्यस्तै प्रवक्ता मनिष झाले पत्रमा भएको केरकारबारे चर्चा भएपनि त्यहीँ भएको हस्ताक्षर र स्ट्याम्पबारे भने कसैले चर्चा नगरेकोमा बताए ।
‘केरिएको ठाउँमा हस्ताक्षर र स्टाम्प देख्नुभएन,’ झाले भने ।
कारागार प्रशासनले नै जोखिम छ भनिसकेपछि आफूहरूले सभापतिको सुरक्षाका लागि जिम्मा लिएको रास्वपाले बताएको छ ।























