धर्ना, जुलुस गर्नुअघि संवादबाट समाधानको प्रयास गर्न गृहकाे आग्रह

२२ असोज, काठमाडौं । गृह मन्त्रालयले धर्ना जुलुसलगायतका कार्यक्रम गर्नु अगावै वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्नेतर्फ अग्रसर हुन आग्रह गरेको छ ।

बुधबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै धर्ना, जुलुसलगायत विरोधका कार्यक्रमहरू गर्नुपर्दा सभ्य, मर्यादित र शान्तिपूर्ण बनाउन समेत अपिल गरेको छ ।

गृहकाे विज्ञप्तिमा भनिएकाे छ‘मुलुकमा शान्ति सुव्यवस्था र अमनचयन कायम राख्दै निर्वाचनलाई सफल बनाउन सबै नागरिकले आफ्ना आवाज, अपेक्षा र असन्तुष्टिहरू शान्तिपूर्वक राख्न र धर्ना, जुलुसलगायत विरोधका कार्यक्रमहरूलाई सभ्य, मर्यादित र शान्तिपूर्ण बनाउन मन्त्रालय सबैसँग अनुरोध गर्दछ,’ ।

आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण तयार गर्नेतर्फ सरकार क्रियाशील रहेको समेत गृहले जानकारी दिएकाे छ ।

‘नागरिकका चासो, सरोकार र मागलाई गम्भीरतापूर्वक वार्ता एवम् छलफलमार्फत समाधान गर्न सरकार सधैं सकारात्मक रहेको व्यहोरा भनिएकाे छ। धर्ना जुलुस लगायतका कार्यक्रम गर्नु अगावै वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्नेतर्फ अग्रसर हुन सबैमा हार्दिक अनुरोध छ,’ गृहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

जेनजी समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने माग गर्दै प्रहरी कार्यालयमा दबाब बढाएपछि सोमबार साँझ प्रहरी प्रमुखसहितका वरिष्ठ अधिकारीहरु गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट्न पुगेका थिए ।

सो भेटमा प्रहरी अधिकारीहरुले अहिलेको तरल अवस्थामा सडक प्रदर्शन हुँदा कस्ता जोखिम हुन्छन् भनेर ब्रिफिङ गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here