काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । ओमानमा सुरु भएको आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको हो । नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रनमा अलआउट भयो ।
कुवेतका लागि क्लिन्टो अन्टोले सर्वाधिक २६ रन बनाए भने यासिन पटेलले १९ रन बनाए ।
नेपालका लागि ललित राजवंशीले ४ ओभरमा १७ रन दिएर २ विकेट लिए ।त्यस्तै सन्दीप लामिछानेले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए । कप्तान रोहित पौडेलले २ ओभरमा ७ रन दिएर २ विकेट लिए । कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले १-१ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ओपनिङ ब्याटर कुशल भुर्तेलको अर्धशतक मद्दतमा २० ओभरमा ७ विकेट गुमाएर कुवेतलाई १४२ रनको लक्ष्य दिएको थियो ।
भुर्तेलले ५६ बलमा ३ चौका र ३ छक्कासहित ६६ रन बनाए ।
यो जितसँगै नेपाल सुपर सिक्समा पुग्ने पक्का भएको छ । अब नेपालले समूह चरणको अर्को खेलमा शुक्रबार जापानसँग खेल्नेछ ।

























