४ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको मौकामा विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको घरमा डाँका चोरी गरेको आरोपमा समातिएका भारतीय नागरिक कारागार चलान भएका छन् ।
शाक्यको ललितपुर महानगरपालिका–११ ढटल मार्गस्थित घरमा डाँका चोरीको आरोपमा भारतीय नागरिक १८ वर्षीय सरोज आलम समातिएका हुन्। भारतको बेतिया जिल्लाका आलमलाई अदालतले पुर्पक्षका लागि कारागार चालनको आदेश दिएपछि कारागार पठाइएको हाे।
शाक्यकै घरमा डाँका चोरी गरेको आरोपमा काभ्रेको रोशी गाउँपालिक–१ खहरेका २५ वर्षीय फुर्साङ लामा, बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ का २२ वर्षीय सहजाद मिया मंसुरी र रौतहटको चन्द्रनिगाहापुर नगरपालिका–१ का २८ वर्षीय मनिष सुनारलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका मध्ये लामालाई ६० हजार र बाँकी दुई जनालाई जनही ३०/३० हजार धरौटीमा छाड्न आदेश भएको थियो । उनीहरू धरौटी बुझाएर छुटेका छन् ।
शाक्यको घरको ग्राउन्ड फ्लोरमा सञ्चालन रहेको रेष्टलस नामको एनजीओबाट केही डलर, हितेन्द्रदेवले पाएका दीर्घ सेवा पदक, अवकाश पदक, हितेत्द्र देवका बाबुले प्राप्त गरेका शुभराज्य रोहण पदक, मोबाइल, सुनचाँदीका सिक्का, गहनालगायत १६ लाख रुपैयाँभन्दा बढीको सरसामान चोरी तथा नष्ट भएको बताइएको छ ।





















