‘लिग लिडर’ बार्सिलोना लेभान्टेसँग पराजित,रियल मड्रिड बराबरीमा रोकियो

काठमाडौं,१७ कात्तिक । स्पेनिस ला लिगा अन्तर्गतको खेलमा ‘लिग लिडर’ बार्सिलोना पराजित भएको छ । खेलको दोस्रो हाफको सात मिनेटको अन्तरालमा ३ गोल खाएपछि लेभान्टेसँग ३-१ ले पराजित भएको हो ।

लेभान्टेको घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा बार्सिलोनाले लियोनल मेस्सीको पेनाल्टी गोल मार्फत अग्रता लिएको थियो। तर खेलको दोस्रो हाफमा अग्रता जोगाउन नसक्दा बार्सिलोना पराजित भएको छ।

घरेलु टोलीको लागि खेलको ६१ औं मिनेटमा जोजे काम्पना गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। त्यसको दुई मिनेटपछि नै बोर्जा मायोरालले गोल गर्दै लेभान्टेलाई खेलमा अग्रता दिलाए। त्यस्तै ६८ औं मिनेटमा घरेलु टोलीको लागि नेमान्जा राडोजाले गोल गर्दै अग्रता ३-१ बनाए।

त्यसपछि कुनै पनि गोल हुन् सकेन र बार्सिलोना पराजित भयो। त्यस्तै दोस्रो स्थानको रियल मड्रिड रियल बेटिससँग र तेस्रो स्थानको एट्लेटिको मड्रिड सेभियासँग बराबरीमा रोकिएको छ । यो बराबरीका कारण रियलले बार्सिलोनासँग अंक बराबरी गरेको छ । शीर्ष स्थानको बार्सिलोना र दोस्रो स्थानको रियल मड्रिडको समान २२ अंक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here