राष्ट्र बैंकले आज आइतबार पनि वित्तीय प्रणालीबाट ९० अर्ब रुपैयाँ झिक्न लागेको छ । वित्तीय प्रणालीमा अधिक तरलता थपिएसँगै राष्ट्र बैंकले आज पनि ९० अर्ब रुपैयाँ बजारबाट झिक्न लागेको हो ।
तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले ४२ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ ।
सातामा राष्ट्र बैंकले आइतबार र बुधबार नियमित रुपमा पैसा झिक्दै आएको छ ।
बजारबाट पैसा निकाल्नका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ ।
घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले भनेको छ ।























