आज रातिदेखि बुधवार बिहानसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि बुधवार बिहानसम्म वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।

मनसुनसम्बन्धी विशेष मौसम बुलेटिन निकालेर पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण आउँदो दुई दिन मौसम प्रभावित हुने जानकारी गराएको हो ।

विभागका अनुसार गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा अत्यधिक हिमपात हुने छ। सबै प्रदेशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा मध्यम खालको हिमपातको सम्भावना छ ।

अरब सागरमा बसेको प्रणालीको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँसहित बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँहरूमा हल्कादेखि मध्यम वर्षा गराउने सम्भावना रहेको छ ।

विभागले सम्भावित वर्षा र हिमपातका कारण दैनिक जनजीवन प्रभावित हुने बताएको छ। साथै पर्वतारोहण, कृषि र पर्यटन क्षेत्रमा समेत असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ । यसअघि पर्यटन विभागले हिमाली क्षेत्रमा पदयात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिसकेको छ भने मौसमविद्हरूले धानबाली काटेर खेतमा नछाड्न आग्रह गरेका छन् ।

यो प्रणालीले पूर्व मधेश र कोशी प्रदशेमा मुसल्धारे वर्षा गराउने सम्भावना छ । पदयात्रा र धान भित्र्याउने किसानलाई असर पार्ने देखिए पनि वायु प्रदूषण कम गराउने, हिमालमा हिउँ पर्ने, जलस्रोतमा सहयोग पुग्ने र समग्रमा जमिनमा आद्रता कायम हुने भएकोले कृषिबालीमा फाइदा पुग्छ। काठमाडौं उपत्यकामा पनि बर्षाको सम्भावना रहेको बताइएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here