काठमाडौं । मुस्ताङको हिडन भ्याली क्षेत्रमा तीन दिनदेखि फसेका तीन जना बेलायती नागरिकसहित १५ जना पर्यटकको शुक्रबार सकुशल उद्धार गरिएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र गैरसैनिक पथ प्रदर्शकको संयुक्त टोलीले उद्धार गरेकाे हाे। उनीहरूलाई ४ हजार ९०० मिटरको उचाइमा रहेको बतासे डाँडाबाट उद्धार गरिएको बताइएकाे छ।
हिमपातका कारण उनिहरु धवलागिरी चक्रीय पदमार्गमा फसेका थिए ।
१२ कात्तिकमा मुस्ताङस्थित नेपाली सेनाको उच्च शिखर शिक्षालय र इन्द्रबक्स गणसहितको टोलीले याक खर्कमा बेस बनाइ उनीहरूको उद्धार प्रयास थालेको थियो ।
तीन दिनको अथक प्रयासपछि नेपाली सेनाको टोलीले शुक्रबार फेला पारी याक खर्कसम्म सकुशल उद्धार गरेको जनाइएको छ ।
फेला परेका पर्यटकहरूलाई उद्धार टोलीले जोमसोमतर्फ ल्याउने काम भइरहेको नेपाली सेनाले जनाएको छ ।























