२३ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २१ फागुनका लागि तोकिएको निर्वाचन सफल बनाउन सबैलाई आह्वान गरेका छन् ।
आइतबार सिंहदरबारमा सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले यस्ताे आव्हान गरेका हुन् । उनले संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउनुपर्ने बताए । नयाँ पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिंदै निर्वाचन सफल बनाउनु पर्ने बताएका हुन् ।
राष्ट्रपति पौडेलले देशको सकारात्मक परिवर्तन, विकासका पहल, सम्भावना र अवसरहरूका बारेमा नागरिकलाई सूचित गर्ने महत्वपूर्ण जिम्मेवारी पूरा गर्न दत्तचित्त भएर लाग्न सन्चारमाध्यमलाई आग्रह गरे ।
‘सत्य, तथ्य र विश्वसनीय सूचना प्राप्त गर्नु नागरिकको मौलिक अधिकार भएकाले सत्य–तथ्यमा आधारित सूचना प्रवाह गर्नु सञ्चार माध्यमको कर्तव्य, जिम्मेवारी र दायित्व हाे’ उनले भने।
राष्ट्रपति पौडेलले प्रविधिको दुरुपयोग गरेर भ्रम, मिथ्या एवम् संशयपूर्ण सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराबाट जोगाउनु जिम्मेवार आमसञ्चार माध्यमको दायित्व भएको धारणा राखे ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आमसञ्चार माध्यमलाई व्यवसायिक रुपमा अघि बढाउन प्रसारण गर्ने विषय सामग्री महत्वपूर्ण हुने भन्दै यसमा ध्यान दिन आग्रह गरे । सार्वजनिक सेवा प्रसारणले फरक र सिर्जनात्मक विषयवस्तु प्रसारण गर्नुपर्ने चुनौती रहेको भन्दै यसलाई दिगो रुपमा अगाडि बढाउन आवश्यक रहेको बताए ।























