काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्ता कार्यलाई छिटो, छरितो र प्रभावकारी बनाउन तीन बुँदे निर्देशन दिएकी छन्।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने अन्तिम मिति २०८२ कात्तिक ३० गते रहेको र मतदाता नामावली दर्ता कार्यमा जनशक्ति व्यवस्थापनका कारण दर्ता गर्न आउने सेवाग्राहीले लामो समय कुर्नु परेको, प्रि–इनरोलमेण्ट फारममा मतदान केन्द्र छनोट गर्न नसकेको गुनासाे छ।
त्यस्तै नागरिकता नम्बर प्रविष्ट गरे पनि नामावली दर्ता गर्न प्राविधिक समस्या आउने गरेको, जेनजी आन्दोलनका सहिद तथा घाइते परिवार र अशक्त व्यक्तिहरूलाई दर्ता गराउन असहज भएको जस्ता गुनासो आइरहेको अवस्था छ,’ प्रधानमन्त्रीले समस्याको पहिचान गर्दै भनेकी छन्।
निर्वाचन कार्यालयहरूमा बढिरहेको कार्यचाप अनुरूप आवश्यकता अनुसार कार्य समय/सिफ्ट बढाइ मतदाता नामावली दर्ता प्रक्रियालाई थप सहज बनाउनुका साथै यसका लागि थप कर्मचारी परिचालन गर्न आवश्यक भएमा सम्बन्धित निकायमा पत्राचार गर्न कार्कीले निर्देशन दिएकी छन्।
त्यस्तै मतदाता नामावली दर्ता कार्यलाई छिटो, छरितो र प्रभावकारी बनाउन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्रणालीमा रहेको तथ्यांकलाई मतदाता नामावली दर्ताका लागि प्रयोग गर्न मिल्ने गरी आवश्यक प्राविधिक एवम् कानूनी प्रक्रिया अगाडि बढाउन पनि कार्कीले भनेकी छन्।
आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएकोमा भोट हाल्ने नयाँ मतदाताले आगामी कात्तिक ३० गतेभित्र नामावली दर्ता गराइसक्नुपर्ने छ।























