३० कात्तिक, काठमाडौं । नेपालमा एकै महिनामा पहिलो पटक २ खर्ब रेमिट्यान्स भित्रिएको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोजमा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । याे मासिक भित्रिने रेमिट्यान्समा नयाँ कीर्तिमानी हाे। । चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा ७९ प्रतिशतले धेरै हो ।
असोज महिनामा दशै, तिहार तथा छठ परेकाेले विदेशमा रहेका नेपालीले स्वदेशका परिवारमा खर्च पठाउने गर्नेछन् । गत आर्थिक वर्ष असोजमा मात्रै १ खर्ब ४४ अर्ब १७ करोड रेमिट्यान्स भित्रिएको थियो ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५ खर्ब ५३ अर्ब ३१ करोड रेमिट्यान्स भित्रिएको केन्द्रीय बैंकले जनाएको छ । यो रकम गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३५.४ प्रतिशत बढि हो । गत आर्थिक वर्षको साउनदेखि असोजसम्म ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो ।
चालु आवको असोजसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख २३ हजार ४ सय ५९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ७७ हजार २ सय ५७ रहेको छ । गत अवाको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः एक लाख १० हजार ६ सय ५४ र ५९ हजार ९ सय ३९ रहेको थियो ।






















