नबिल बैंकले मास्टरकार्ड नेटवर्कअन्तर्गत नयाँ डेविट कार्ड जारी गर्यो

काठमाडौँ । नबिल बैंकले मास्टरकार्ड नेटवर्कअन्तर्गत नयाँ डेविट कार्ड जारी गरेको छ । बैंकले ग्राहकको सुविधा र विद्युतीय भुक्तानीलाई अझ बढी समृद्ध बनाउने उद्देश्यले काठमाडौँमा आयोजित एक कार्यक्रममा नयाँ डेविट कार्ड जारी गरेको जनाएको छ । कार्यक्रममा नबिल बैंक र मास्टरकार्डका तर्फबाट वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले ग्राहकलाई उच्चस्तरीय सुविधा दिने बैंकको प्रतिबद्धतामा यो नयाँ उपलब्धि भएको बताए । उनले भने, ‘बैंकले सुरुआतदेखि नै ग्राहकलाई विश्वस्तरीय सुविधा उपलब्ध गराउँदै आएको छ, यसै यात्रामा नयाँ डेविट कार्ड जारी गरिएको हो ।|

मास्टरकार्ड, दक्षिण एसियाका प्रडक्ट एण्ड सोलुसनका वरिष्ठ उपाध्यक्ष रवि दातलाले आफूहरु नयाँ डेविट कार्ड जारी गरी नबिल बैंकसँगको सहकार्यलाई थप बलियो बनाउन पाउँदा खुसी लागेको बताए । मास्टरकार्डमार्फत आफूहरु ग्राहकलाई सुरक्षित र सहज भुक्तानीको सुविधा उपलब्ध गराउन प्रतिबद्ध भएको उनको भनाइ छ ।

नयाँ डेविट कार्डमार्फत ग्राहकहरुले मास्टरकार्डको विश्वस्तरीय सञ्जाल तथा दैनिक जीवनमा नयाँ बैंकिङ सेवाको अनुभव लिन पाउने बैंकले जनाएको छ । बैंकका अनुसार नयाँ डेविट कार्ड आकर्षक डिजाइनमा उपलब्ध हुनेछ । जसमा शालीनता, स्वतन्त्रता र राष्ट्रिय गौरवको प्रतिक मानिने नेपालको राष्ट्रिय चरा डाँफेको चित्र अंकित गरिएको छ ।
मास्टरकार्डको नयाँ डेविट कार्ड प्रयोगकर्ताले प्रिमियम सुविधा पाउनेछन् । जसमा विभिन्न रेष्टुरेन्ट, स्पा, फिटसेन सेन्टर तथा मनोरञ्जनका क्षेत्रमा छुट उपलब्ध हुनेछ ।

नबिल बैंक मास्टरकार्डको एक प्रमुख सदस्य हो । नबिल बैंक नेपालमा मास्टरकार्डको क्रेडिट कार्ड जारी गर्ने नेपालको पहिलो बैंक पनि हो । बैंकले मास्टरकार्डको क्रेडिट कार्ड नेपाली रुपैयाँ र अमेरिकी डलरमा कारोबार गर्न मिल्ने गरी उपलब्ध गराउँदै आएको थियो । कार्ड प्राप्त गर्नका लागि ग्राहकले बैंकको कुनै पनि शाखा वा एनबैंक एपमार्फत आवेदन दिनसक्ने जनाइएको छ ।

नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here