पीएचडी नगरी झुटो विवरण पेस गर्ने चार अध्यापक विरुद्ध भ्रष्टाचार मुद्दा

१० मंसिर, काठमाडौं । पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा त्रिभुवन विश्वविद्यालयका चार अध्यापक विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहपरीक्षा नियन्त्रक छनौट समितिमा रहेका तीन प्राध्यापक र झुटो विद्यावारिधिको दावी पेश गर्ने सहप्राध्यापक विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको हो ।

छनौट समितिमा रहनेमा संयोजक प्राध्यापक डाक्टर जया लक्ष्मी प्रधान र सदस्यहरु प्राध्यापक डाक्टर मोतिलाल शर्मा र प्राध्यापक डाक्टर मेधराज पोखरेल छन् ।

झुटो विवरण पेश गरेको आरोपमा त्रिभुवन विश्वविद्यालयका सहक परीक्षा नियन्त्रक बनेका डिल्लीराम प्रसाईं छन् ।

त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारको कार्यालयले एक वर्षअघि परीक्षा नियन्त्रण कार्यालय, पूर्वाञ्चल, विराटनगरका लागि सह–परीक्षा नियन्त्रक पदको विज्ञापन निकालेकोमा छ जनाको आवेदन परेको थियो । प्रतिस्पर्धीहरूमध्ये एकजना छनौट गर्न त्रिभुवन विश्वविद्यालयले प्रधानको संयोजकत्वमा शर्मा र पोख्रेल रहेको तीन सदस्यीय छनौट समिति गठन गरेको थियो ।

प्रतिस्पर्धीमध्ये एक डिल्लीराम प्रसाईंले आफूले विद्यावारिधि गरेको भनी नामका अगाडी डा. लेखेका थिए । त्यस्तै पीएचडी गरेकाले विज्ञको रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी भएको भनी प्रमाणपत्रहरू पेश गरेका थिए ।

विद्यावारिधि गरेका प्रतिस्पर्धीले अरूको तुलनामा थप ८ अंक पाउने नियम थियाे । ५ पुसमा डीन कुशुम शाक्यको अध्यक्षतामा बसेको अनुसन्धान समितिको बैठकमा उनले शोधपत्र पेश गरेपनि अन्तिम रूपमा स्वीकृत नभएको निर्णय गरेको थियो । उनले २९ माघमा मात्रै विद्यावारिधिको उपाधि पाएको खुलेको छ ।

आफूले पदको लाभ लिनका लागि नपाएको ओहोदा पाएको दाबी गरेको र झुटो विवरण पेश गरेको भन्दै अख्तियारले प्रसाईंविरुद्ध मुद्दा दायर गरेको हो । उनी बाहेक छनौट समितिमा रहेका तीन जनामाथि पेश भएको झुटो विवरण स्वीकार गरेको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here