कोटेश्वर-जडीबुटी अन्डरपास र फ्लाइओभर बनाउन जापानले साढे ३१ अर्ब ऋण उपलब्ध गराउने

काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौता भएको छ । बुधबार अर्थमन्त्री रामेश्वर प्रसाद खनालको उपस्थतिमा अर्थ मन्त्रालयमा यस्ताे सम्झौता भएको हो । जसअनुसार जापानले कोटेश्वर तथा जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माणका लागि ३४.५९ अर्ब जापानी येन (करिब ३१.७६ अर्ब रुपैयाँ) बराबर ऋण सहायता उपलब्ध गराएको छ ।

जाइकामार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ०.२ प्रतिशत ब्याजदर रहने बताइएकाे छ ।

ऋण सहायतासँग सम्बन्धित एक्स्चेन्ज अफ नोटमा अर्थसचिव डा. घनश्याम उपाध्याय र जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरे । त्यस्तै ऋण सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सहसचिव डा. धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले हस्ताक्षर गरे ।

आयोजनाले काठमाडौं, ललितपुर, भक्तपुर तथा बीपी राजमार्ग हुँदै चल्ने सवारीसाधनको आवागमन सहज बनाउन तथा ट्राफिक जाम न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागमार्फत कार्यान्वयन गरिनेछ ।

कार्यक्रममा जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकी, राजदूत मायदा तोरु तथा अर्थमन्त्री रामेश्वर प्रसाद खनालले द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै जापानी राजदूतले जापानको सहुलियतपूर्ण ऋण सहयोगमा कार्यान्वयन हुने कोटेश्वर चोक सुधार आयोजना कार्यान्वयनबाट उपत्यकाको यातायात व्यवस्थामा उल्लेख्य सुधार हुने विश्वास व्यक्त गरे ।

अर्थमन्त्री खनालले आफ्नो नेपाल–जापान सहकार्यअन्तर्गत काठमाडौं उपत्यकाको महत्त्वपूर्ण जामयुक्त स्थानको सुधारमा प्रगति ल्याउने उद्देश्यले आयोजना अघि बढाइएको बताए । साथै यो परियोजनाले राजधानीको यातायात व्यवस्थापनमा दीर्घकालीन परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here