प्रधानमन्त्री कार्कीले भनिन्: ‘भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार तयार छ’

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी मात्र नभई सुशासनका लागि पनि बनेको बताएकी छन् । भ्रष्टाचारविरुद्धको २२ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिंहदरबारमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सो कुरा बताएकी हुन् ।

साे अवसरमा उनले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार तयार भएको बताइन् । सरकार चुनावी सरकार मात्र नभइ सुशासनको माग राखी भएको जेन्जी आन्दोलनको जगमा बनेको सरकार भएको भन्दै सुशासनका निमित्त तीव्र गतिमा काम गरिरहेको र त्यसका लागि राज्य संयन्त्र क्रियाशील रहेको बताइन् ।

‘जेनजीका माग र अपेक्षा बमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लाग्ला तर भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि हट्ने छैन,’ प्रधानमन्त्री कार्कीले भनिन्।

उनले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा काम गर्दा धम्की आए पनि नडराउने बताइन्। ‘यस दिशामा चालिएका कदमबाट अत्तालिएर कतिपय तत्वले प्रत्यक्ष वा परोक्षरुपमा धम्क्याए पनि हामी डराउँदैनौँ,’ उनले भनिन् ।

प्रधानमन्त्री कार्कीले सम्बन्धित निकायका पदाधिकारी र राष्ट्र सेवकहरुलाई पनि विचलित नभई निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न आग्रह गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here