२३ मंसिर, काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका भ्रष्टाचार भएको मुद्दामा नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग विशेष अदालतले पाँच लाख धरौटी मागेको छ ।
अधिकारीलाई विशेष अदालतले पोखरा विमानस्थलको मुद्दामा न पाँच लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
उनी भक्तपुरको नलिञ्चोकको हेलिपोर्ट निर्माणको भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन्। हेलिपोर्टको मुद्दाले पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान भएका अधिकारी यो आदेशले भने रिहा हुने छैनन् ।
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामै नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक मुरारी भण्डारीसँग एक लाख धरौटी माग गरेको छ ।
विशेषका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र सुदर्शनदेव भट्टको संयुक्त इजलासमा भएको थुनछेक बहसपछि अधिकारी र भण्डारीलाई धरौटीमा छाड्न आदेश भएको हो ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच पूर्वमन्त्रीसहित ५६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरूविरुद्ध ८ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी राखेको छ ।
























