नेपाल–चीन आर्थिक सहकार्यमा सरोकारवालाको जोड

काठमाडौँ, २ पुस । अर्थमन्त्री रामेश्वर खनालले नेपाल–चीन आर्थिक सहकार्य र लगानी वृद्धिमा जोड दिएका छन् । मङ्गलबार आयोजित नेपाल–चीन आर्थिक सहकार्य र लगानीसम्बन्धी कार्यशालामा मन्त्री खनालले वैदेशिक लगानी भित्र्याउन नेपालले आर्थिक सुधारका विविध कार्यक्रमहरू गर्दै आएकाले चिनियाँ लगानीकर्तालाई ढुक्क भएर नेपालमा पुँजी परिचालन गर्न आग्रह गरे ।

अर्थमन्त्रीले विदेशी लगानी भित्र्याउन नेपालले अनुकूल वातावरण सृजना गरेकाले नेपाल र चीनले आर्थिक सहकार्यका विभिन्न क्षेत्रहरू पहिचान गरी सहकार्य गर्नु अपरिहार्य भएको बताए । नेपालका लागि चीनका राजदूत छन सङले चिनियाँ लगानीकर्ताले नेपालमा आफ्नो उपस्थितिलाई बाक्लो बनाउँदै लगेको बताए ।

उनले दुई देशबीचको बहुआयामिक सम्बन्धको चर्चा गर्दै औद्योगिक विकास, ऊर्जा, पूर्वाधार निर्माणलगायत क्षेत्रमा नेपालसँग सहकार्य गर्न चिनियाँ लगानीकर्ता इच्छुक रहेका बताए । साथै उनले नेपाललाई आफ्नो मुलुकबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले नेपालमा लगानीका लागि बृहत अवसर रहेको बताए । यस्तो अवसरको फाइदा उठाउन ज्ञवालीले थप लगानी गर्न चिनियाँ लगानीकर्तालाई आग्रह गरे ।

सीईओ ज्ञवालीले नेपालमा ऊर्जा, कृषि, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, सडक, औद्योगिक लगायत क्षेत्रमा लगानीका लागि धेरै सम्भावना रहेको र बजार हिसाबले नेपाल दक्षिण एसियाको ‘गेटवे’ बन्न सक्ने धारणा राखे । लगानीका लागि नेपाल आकर्षक गन्तव्य रहेको उल्लेख गर्दै उनले रोजगारी सिर्जना गर्न र दीर्घकालीन साझेदारी निर्माणका लागि पनि चिनियाँ लगानीले सहयोग पुग्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here