२ पुस, काठमाडौं । नेपाल सरकारले उपहार दिएका दुई हात्ती आज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारका लागि उडेका छन् ।
कतार एयरवेजको उडान नम्बर क्यू आर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर जहाज मार्फत बुधबार खगेन्द्रप्रसाद र रुद्रकली नामका दुई हात्ती कतार उडेका हुन् ।
दुई हात्ती मंगलबार नै चितवनबाट भैरहवा ल्याइएको थियो । भैरहवाबाट उडान भरेको ४ घण्टामा कतार पुग्ने छ।
हात्तीहरूसँगै एक जना पशु प्राविधिक, रूद्रकलीका माउते बुद्धिलाल श्रेष्ठ तथा खगेन्द्रप्रसादका माउते पाचुखा थारु पनि कतार प्रस्थान गरेका छन् । केही समय हात्तीहरूको रेखदेख गर्नेदेखि त्यहाँका कर्मचारीहरूलाई हात्तीको स्याहारसुसार गर्न सिकाएर मात्रै उनीहरू फर्किने छन् ।
नेपाल सरकारका तर्फबाट कतारलाई उपहारस्वरूप ६ वर्षको भाले हात्ती खगेन्द्रप्रसाद र ७ वर्षकै पोथी हात्ती रुद्रकली पठाइएको हो ।
२०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने बाचा गरेको थियो ।
हात्ती प्रजनन केन्द्रमा २०७५ सालमा पूजाकलीको कोखबाट जन्मिएकी रुद्रकली जन्मिएको हो । यी दुवै हात्तीको बाबु जंगली हात्ती ‘रोनाल्डो’ रहेको निकुञ्जले पुष्टि गरेको छ ।





















