इमरान खान दम्पतीलाई १७ वर्ष जेल सजाय

काठमाडौं । पाकिस्तानको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७–१७ वर्षको कठोर कारावास सजाय सुनाएको छ ।

तोशाखाना अनुसन्धानसँग जोडिएको मुद्दामा शनिबार अदालतले खान दम्पतीलाई समान १७ वर्ष जेल सजाय सुनाएको हो । १७–१७ वर्षको जेल सजायसँगै अदालतले इमरान खान र बुशरा बीबीलाई १ करोड ६४ लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि तोकेको छ ।

इमरान खान हाल रावलपिण्डीस्थित अडियाला जेलमा थुनामा छन् । उनीहरूलाई देशले प्राप्त गरेका उपहार खरिद गर्दा अनियमितता गरेको आरोप छ ।

आरोप अनुसार, इमरान खान र बुशरा बीबीले २०२१ मा साउदी युवराजबाट प्राप्त बुलगारी ब्रान्डको आभूषण सेट अत्यन्तै कम मूल्यमा खरिद गरेका थिए ।

अभियोजन पक्षका अनुसार करिब ३ लाख ८० हजार युरो मूल्य पर्ने उक्त सेट उनीहरूले करिब २९ लाख पाकिस्तानी रुपैयाँमै लिएका थिए, जसका कारण सरकारी ढुकुटीमा करोडौं रुपैयाँ बराबरको क्षति भएको दाबी गरिएको छ । न्यायाधीश शाहरुख अर्जुमन्दले विश्वासघातको अभियोगमा १०–१० वर्षको कठोर कारावास र भ्रष्टाचार निवारण ऐनअन्तर्गत थप ७–७ वर्षको सजाय सुनाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here