स्वेच्छिक बचतले मात्र पुगेन, अनिवार्य बचतको पक्षमा अर्थमन्त्री

काठमाडौं ४, चैत । मुलुकको आर्थिक विकासका लागि आवश्यक पुँजी जुटाउन अनिवार्य बचतको व्यवस्था गर्नुपर्ने अर्थमन्त्री युवाराज खतिवडाले बताएका छन् । आर्थिक विकासका लागि ठूलो पुँजी आवश्यक पर्ने भएकाले अनिवार्य बचतलाई प्रोत्साहन गर्नु पर्ने उनको भनाइ थियो ।

नागरिक लगानी कोषको २९ औं वार्षिकोत्सव तथा नयाँ भवन निर्माणको शिलान्यास कार्यक्रममा अर्थमन्त्री खतिवडाले यस्तो बताए हुन । कोष स्थापना कालमा अनिवार्य बचतको अबधारणा ल्याइएको बताए ।

‘स्वेच्छाले गरेको बचतले मात्र नपुगने हुदाँ अनिबार्य बचत आवश्यक छ,’ उनले भने, ‘यसकारण कोषले सोही दिशामा काम गरोस ।’ कार्यक्रममा अर्थमन्त्री खतिवडाले नागरिक लगानी कोषलाई मुद्रा बजार ( बैकिङ) क्षेत्रमा ब्याजदरको उतारचढावमा नखेल्न पनि सुझाव दिए ।

कार्यक्रममा अर्थमन्त्री खतिवडाले संचालनमा रहेको सबै समाजिक सुरक्षा सम्बन्धि कार्य गर्ने कोषलाई एउटै छानामुनी ल्याउनुपर्ने आवश्यकता रहेको बताए ।

खतिवडाले बानेश्वर अन्तर्राष्ट्रिय सभा केन्द्रको पूर्वपट्टी रहेको कोषको ६ रोपनी जमिनमा २ तलाको वेसमेन्ट सहित ९ तल्लाको कार्यालय भबनको शिलान्यास गरेका थिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणी सिवाकोटीले कोषले पुर्वाधार, कृर्षि जस्ता क्षेत्रमा लगानी बिस्तार गर्न सके अझ उपयोगी हुने बताए । यसका लागि कोषले आफनो लगानीको क्षेत्रलाई बिस्तार गर्न सुझाव दिए ।

कोष संचालक समितिका अध्यक्ष रामचन्द्र भट्टराईले सरकारको उच्च आर्थिक विकास गर्ने अठोटलाई टेवा पुर्याउन कोषलाई अझ सुदृढ बनाउँदै लाने बताए । ‘आगामी दिनमा कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार निर्माण जस्ता उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्दै जानेछौं,’ उनले भने ।

पूँजीबजारमा दरिलो उपस्थितिका लागि प्राथमिक एवं दोस्रो बजारबाट सेयर खरिद बिक्री गर्ने कार्य सञ्चालन गर्ने गरी कोषको लगानी नीतिमा आवश्यक परिमार्जन गरिएको उनले जानकारी दिए । उनले भने, ‘यो व्यपस्थाले सेयर बजारमा देखिने अप्रत्यासित मूल्य बढ्ने वा घट्ने प्रवृत्तिलाई एउटा सीमाभित्र कायम राख्न सहयोग पुग्ने छ ।’

कार्यकारी निर्देशक रमण नेपालले कोषले ११ वटा वचत कार्यक्रम संचालन गरी पुँजी बजार सेवा पनि प्रदान गरिरहेको बताए । कोषले आर्थिक वर्ष ०७५/७६ को पुस मसान्तसम्ममा १ खर्ब १७ अर्ब १२ करोड रुपैयाँ बराबर खुद कोष परिचालन गरेको गरेकोमा १ खर्ब १३ अर्व ८४ करोड रुपैयाँ लगानी भएको उनले जानकारी दिए ।

कोषले अबका दिनमा असंगठीत क्षेत्रका स्वतन्त्र मजदुर, किसान तथा स्वरोजगारमा रहेको उद्यमी तथा व्यवसायीलाई लगानी कोषका विविध कार्यक्रममा आवद्घ गराउन पहल गर्ने कार्यकारी निर्देशक नेपालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here