लुम्बिनीको राजधानी क्षेत्रमा सरकारी गाडी सन्चालनमा रोक

काठमाडौं । लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा स्थानीयले सरकारी गाडी सन्चालनमा रोक लगाएका छन् ।

अमेरिकाको एमसीसी परियोजना अन्तर्गत एमसीए नेपालले दुई लेनमा स्तरोन्नति गर्न लागेको धानखोला–लमही सडकखण्ड चार लेनमा बिस्तारको माग गर्दै स्थानीयले सरकारी गाडी सञ्चालनमा रोक लगाएका हुन् ।

माग सम्बोधन नभएसम्म आज पुस ७ गतेदेखि यो महिनाभर प्रदेश राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन नदिने बताइएकाे छ।

धानखोला–लमही चार लेन सडक निर्माण संघर्ष समितिका संयोजक प्रकाश शाहीकाे नेतृत्वमा केही युवाहरु लुम्बिनी प्रदेश राजधानी गेट, राप्ती गाउँपालिका–३ स्थित प्रदेश प्रशासनिक केन्द्र मुख्य प्रवेश क्षेत्रमा भेला भएर प्रदर्शन गरिरहेका छन् । एमसीए नेपालले साविकको ७ मिटर चौडा सडकलाई दायाँ–बाँया २.५/२.५ मिटर थपेर १२ मिटर मात्र सीमित गरी उही २ लेनकै सडक बनाउन खोजेको भन्दै स्थानीय विरोधमा छन् ।