रिलायन्स आईपीओ : सर्वसाधारणतर्फ पहिलो दिनमै ५ गुणा बढी आवेदन

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले आम–सर्वसाधारणतर्फ सोमबार आईपीओ खुला गरिएकोमा पहिलो दिनमै मागको ५ गुणा बढी आवेदन प्राप्त गरेको छ। वैदेशिक रोजगारी र म्युचुअल फण्ड समूहतर्फ १७ गुणा बढी आवेदन प्राप्त गरेकोमा सर्वसाधारणतर्फ पनि ५ गुणा बढि आवेदन परेकाे कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

आम–सर्वसाधारण समूहतर्फ ९ लाख २४ हजार ७६८ कित्ता शेयर निष्काशन गरिएकोमा ८७ हजार ४८३ आवेदकबाट ४६ लाख ५० हजार ६७० कित्ताको लागि आवेदन परेको छ । आवेदकबाट ३ अर्ब ८१ करोड ७२ लाख ६९ हजार ९३६ रुपैयाँ जम्मा भएको छ । यसअघि वैदेशिक रोजगारी र म्युचुअल फण्डतर्फ १७ गुणा बढी आवेदन परेको थियो । यसले तीन दशक लामो इतिहास बोकेको रिलायन्स स्पिनिङ मिल्सको शेयरधनी हुन लगानीकर्ताहरु निकै लालायित र उत्साही रहेको देखाउँछ ।

कम्पनीले जारी पूँजी १ अर्ब ९० लाखको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता शेयर निष्काशन गरेको छ । बुक विल्डिङ विधिबाट प्रथम चरणमा ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता शेयर योग्य संस्थागत लगानीकर्ताको लागि बाँडफाँट भइसकेको छ । सर्वसाधारण समूहमा निष्काशन हुने ६० प्रतिशत अर्थात् ११ लाख ५५ हजार ९६० कित्तामध्ये वैदेशिक रोजगारमा रहेका नेपाली नागरिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता आम–सर्वसाधारणका लागि खुलेको हो । वैदेशिक रोजगार र सामूहिक लगानी कोषतर्फ यसअघि नै करिब १७ गुणा बढी आवेदन परेकोमा शेयर बाँडफाँट भइसकेको छ ।

कम्पनीद्वारा निष्काशित आईपीओको सबैभन्दा ठूलो हिस्सा (आम–सर्वसाधारणतर्फ) को आवेदन अवधि पुस ७ देखि ११ सम्म तोकिएको छ । उक्त अवधिसम्म पूर्ण आवेदन नपरेमा पुस २१ सम्म अवधि लम्बिने भए पनि पहिलो दिनमै ‘ओभर सब्सक्राइभ’ भएपछि अवधि थप हुने संभावना छैन । कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here