काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले ‘नगरपालिका चलाउन नसक्ने पात्रले देश चलाउँछ भन्ने भ्रम पाल्न नहुने’ बताएका छन्।
रवि-बालेन गठबन्धनपछि उनले सामाजिक सञ्जालमार्फत काण्डै काण्डमा मुछिएका रविसँगको गठबन्धनले बालेनको स्वतन्त्र छवि पनि तीव्र गतिमा घट्ने बताएका छन्।
‘बालेनको लोकप्रियता उनको स्वतन्त्र छविसँग गाँसिएको थियो। रविजस्तो विवादित पात्रको नेतृत्व रहेको दलसँग जोडिनासाथ त्यो आकर्षण तीव्र गतिमा घट्ने देखिन्छ,’ बस्नेतले लेखेका छन् । साथै काम गर्ने कालु, मकै खाने भालु भनेजस्तै रास्वपाको राजनीति पुराना दललाई सराप्ने र सत्ताको भर्याङ चढ्ने बाहेक स्पष्ट दिशा र भिजनमा आधारित नहुँदा जनतासँगको दुरी झन् बढ्दै जाने र जनमत कमजोर हुँदै जाने निश्चित भएको समेत बताएका छन्।
उनले भदौ २४ गते राज्य र लोकतन्त्रका आधार स्तम्भमाथि आक्रमण गरेर नेपाललाई भूराजनीतिक द्वन्द्वको गोटी बनाएर अस्थिरताको षडयन्त्र रचिएको र त्यसमा बालेन र रविको प्रत्यक्ष-अप्रत्यक्ष भूमिका देखिएकाे आरोप लगाएका छन्।
‘नेपाली राजनीतिमा नयाँ पात्रलाई सधैं आशाका रूपमा बेचिन्छ। गगन आए, जबर्जस्त बासी बनाइए। काण्डै काण्डका नाइके रवि आए, उनी पनि बासी भए। लोकप्रियताको आडमा बालेन आए—तीन वर्षमा नगरपालिका नै फेर्न नसक्ने पात्रले अब देश फेर्छ भन्ने भ्रम पनि सकिन थालेको छ। अनुहार फेरिँदैमा देश फेरिँदैन भन्ने तथ्य बारम्बार प्रमाणित भइसकेको छ’ उनले लेखेका छन्’अबको चुनावको मुख्य प्रश्न सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत जलाउने अराजकतालाई रोज्ने कि ती संरचना बनाउने र भत्काउनेमाथि कारबाही गर्ने राजनीति दललाई साथ दिने? जलाउने धारको नेतृत्व बालेन–रविहरूले गरेकै हुन, संरचना जोगाउने जिम्मेवारी पुराना दलहरूले नै वहन गर्नुपर्ने यथार्थ देखिएको छ।’

























