काठमाडौं । सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एकको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । उनीहरूले सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी पनि गरेका छन् ।
बिहीबार राति १ बजे कोशी गाउँपालिका १ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो ।
भारतीय क्षेत्रबाट चिनी, सर्फ र सुर्ती लगायत सामग्री लिएर आउँदै गर्दा सशस्त्र प्रहरीले गोली चलाएको थियो ।
साहको मृत्युपछि आक्रोशित स्थानीयले पूर्वपश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध गरेर प्रदर्शन गरेका हुन् । स्थानीयले शव नै सडकमा राखेर प्रदर्शन गरिरहेको उनले बताए ।
घटनापछि प्रहरीले बिहीबार बिहान स्थानीयसँग वार्ता गरेको थियो । तर, वार्तामा सहमति भएन । स्थानीयले दोषीलाई तत्काल कारवाहीको माग राखेका छन् ।























