काठमाडौं । जाँचबुझ आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्नपत्र पठाएको छ।भदौ २३ र २४ गते भएको घटनाको जाँचबुझ आयोगले दुबै जनालाई त्यस घटनासँग सम्बन्धित प्रश्न पठाएको हो।
भदौ २४ गते देशभरि नै प्रदर्शन हुँदा विभिन्न भौतिक सम्पत्तिमाथि आगजनी तथा तोडफोड भएको थियो। देउवाको सुरक्षाका लागि खटिएका प्रहरीहरूलाई पनि छिचोल्दै प्रदर्शनकारी उनको घर पसेर देउवा र उनकी श्रीमती आरजु राणामाथि समेत कुटपिट गरेको थियो। पछि नेपाली सेनाले दुवै जनाको उद्धार गरेको थियो।
त्यसैगरी प्रचण्ड प्रदर्शन हुँदा सिंहदरबारभित्र थिए। सेनाले उनलाई पनि उद्धार गरेको थियो। दुवै नेताहरूको घरमा आगजनी तथा तोडफोड भएको थियो।
आयोगले केही दिनअघि मात्रै तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान लिएको थियो। त्यसअघि आइजिपी दानबहादुर कार्की, पूर्वआइजिपी चन्द्रकुबेर खापुङ, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा, सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्याल लगायतको पनि बयान लिएको छ।
























