१९ पुस, काठमाडौं । बुद्ध एयरले झापाको भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त विमानको ढोका ‘विमान परिचारिकाले खोल्न नदिएको’ समाचारप्रति प्रष्टीकरण दिएको छ ।
विमान कम्पनीले शुक्रबारको घटनाको वास्तविकता दाबीसहित प्रष्टीकरण दिएको हो । विमान रनवेबाट बाहिर गएपछि बायाँपट्टि खाल्डो र पानी देखिएकाले सुरक्षाका कारण ढोका खोल्न जोखिमपूर्ण रहेको बुद्ध एयरको भनाइ छ ।
‘विमान परिचारिकाले सुरक्षा प्रोटोकल पालना गर्दै दायाँपट्टिको ढोकाका लक खोलेका थिए, तर, ‘जाम’ भई नखुलेपछि उनी तत्काल यात्रुहरूलाई पछाडिको ‘सर्भिस ढोका’बाट सुरक्षित बाहिर निकाल्न अग्रसर भएका थिए ।’
सोही समयमा विमानमा सवार यात्रु उमेश मोक्तानले अगाडिपट्टिको दायाँ ढोका खोल्न र अन्य यात्रुहरूलाई तत्काल बाहिर निकाल्न महत्वपूर्ण सहयोग पुर्याएको बुद्ध एयरले जनाएको छ ।
‘संकटको घडीमा देखाउनुभएको साहस र सहयोगका लागि हामी यात्रु उमेश मोक्तानप्रति हार्दिक आभार प्रकट गर्दछौं,’ विमान कम्पनीले भनेको छ । साथै बुद्ध एयर उनकाे यस कार्यको कदर गर्दै उचित पुरस्कारद्वारा सम्मानित गर्ने घोषणा समेत गरेकाे छ।





















