अर्थतन्त्रको बिस्तार सुस्त, बढी योगदान गर्ने क्षेत्रमै छैन उत्साह

१ माघ, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज) मा अर्थतन्त्रको बिस्तार सुस्त देखिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार यस अवधिमा ३.०२ प्रतिशतको मात्र आर्थिक वृद्धिदर हुने प्रारम्भिक अनुमान गरिएको छ। सरकारले ६ प्रतिशत भन्दा माथिको आर्थिक वृद्धिदर रहने अनुमान गरेको थियो ।

तर, प्राकृतिक विपत्ति, जेन जी आन्दोलनसहितका कारण अर्थतन्त्रमा अपेक्षित बिस्तार हुन सकेको छैन ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आर्थिक वृद्धिको प्रथम त्रैमासिक अनुमान अनुसार पहिलो त्रैमासमा खाद्यान्न बाली, वन पैदावार, निर्जीवन बीमा, आन्तरिक उत्पादनका निर्माण सामग्री लगायत उत्पादनमा संकुचन देखिएको छ ।

विद्युत् उत्पादन तथा वितरण, वित्तीय क्रियाकलाप, पशुजन्य उत्पादन, फलफूल तथा तरकारी, व्यापार सेवा, पर्यटक आगमन लगायत क्रियाकलापमा वृद्धि भएको छ ।

कार्यालयका अनुसार यस त्रैमासमा अर्थतन्त्रको गणनामा समावेश १८ वटै औद्योगिक क्षेत्रको विस्तार धनात्मक छ ।

त्यस्तै मौसमी प्रभाव समायोजित तथ्यांकका आधारमा कुल गार्हस्थ उत्पादन (जीडीपी) आधारभूत मूल्यमा तुलना गर्दा अघिल्लो आवको चौथो त्रैमास अवधिभन्दा चालु आव पहिलो त्रैमासमा १.६८ प्रतिशतले अर्थतन्त्र संकुचनमा आएको छ । यस त्रैमासमा कुल १८ औद्योगिक क्षेत्रमध्ये १३ मा ऋणात्मक वृद्धि देखिएको छ । जसको असर समग्र अर्थतन्त्रमा देखिएको छ ।

पहिलो त्रैमासिक अवधिमा औद्योगिक क्षेत्र अनुसार सबैभन्दा बढी मूल्य अभिवृद्धि विद्युत् र ग्याससँग सम्बन्धित क्रियाकलापको देखिएको छ । जसको वृद्धिदर १४.९१ प्रतिशत छ ।

वित्तीय तथा बीमासम्बन्धी क्रियाकलापमा ७.०७ प्रतिशत र पेसागत, वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप क्षेत्रमा ५.५२ प्रतिशतको वृद्धिदर देखिएको छ । अर्थतन्त्रमा सबैभन्दा बढी योगदान गर्ने कृषि क्षेत्रको वृद्धिदर भने १.३६ प्रतिशतमात्र हुने देखिएको छ ।

यसबाहेक पशुपन्छी, तरकारीबाली तथा फलफूलमा भने उत्पादन वृद्धि भएको कार्यालयले जनाएको छ । अर्थतन्त्रमा दोस्रो ठूलो हिस्सा ओगट्ने थोक तथा खुद्रा व्यापार क्षेत्रको वृद्धिदर ३.८९ प्रतिशत हुने अनुमान छ ।

व्यापारजन्य वस्तु स्वदेशी उत्पादन तथा आयातमा भएको वृद्धिका कारण यो क्षेत्र धनात्मक रहन गएको विश्लेषण छ । यस त्रैमासमा सबैभन्दा कम वृद्धिदर पानी आपूर्ति, ढल निकास, फोहोर व्यवस्थापन तथा उपचारात्मक क्रियाकलापमा छ । जुन १.११ प्रतिशत छ । यसबाहेक मानव स्वास्थ्य तथा सामाजिक क्रियाकलापको १.१९ प्रतिशत छ ।

अघिल्लो आव अन्तिम त्रैमासिक अवधिको तुलनामा भने खानी तथा उत्खनन, सार्वजनिक प्रशासन तथा रक्षा र सामाजिक सुरक्षाको वृद्धिदर सबैभन्दा धेरैले ऋणात्मक रहेको अनुमान छ ।

विद्युत्, ग्यास, सूचना तथा सञ्चार, पेसागत, वैज्ञानिक तथा प्राविधिक सेवामा भने बढी वृद्धि भएको अनुमान छ । अर्थतन्त्रमा सबैभन्दा बढी योगदान गर्ने कृषिमा १.६५ प्रतिशतको संकुचन आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here