काठमाडौं । सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रङ्क हुलाकी राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहानर्सिङ- ८, सोनियाहीमा अनियन्त्रित भई पल्टिँदा ५ जना मजदुरको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
विराटनगरबाट टायल र मार्बल लोड गरी सप्तरीको राजविराजतर्फ जाँदै गरेकाे ट्रक सोनियाहीस्थित सडकको घुम्तीमा पल्टदा पछाडि सामानमाथि बसेका ५ जना मजदुरलाई टायल र मार्बलले थिचेको थियो । सामानले थिचिएका पाँचै जनाको घटनास्थलमै मृत्यु भएको उनले बताए ।
मृत्यु हुनेमा सुनसरीको बर्जु गाउँपालिका वडानम्बर १ का ट्रकमा सवार ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गुरुङ रहेका छन्।
ट्रकमा चालकसहित जम्मा ९ जना सवार थिए । घाइतेहरूको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ ।

























