काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले आगामी मंगलबारलाई तोकिएको प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मनोनयन स्थगित हुनुपर्ने माग गरेको छ ।
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा रिट निवेदन पेस गर्दै यस्ताे माग गरेका हुन्। देउवा समूहले गगन–विश्व समूहलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय बदर हुनुपर्ने माग गरेका हुन् ।
उनीहरूले मंगलबार (६ माघ ) को मनोनयन रोक्नुपर्ने र मनोनयन भइसकेको भए त्यसलाई स्थगित गरेर अर्को मनोनयनको मिति घोषणा गर्न आदेश हुनुपर्ने माग गरेका छन् ।
त्यस्तै आयोगको निर्णय बदर गरी भृकुटीमण्डप महाधिवेशनबाट चयन भएको नयाँ कार्यसमिति भंग गर्नुपर्ने बताएका छन्। निर्वाचन आयोग, भृकुटीमण्डपबाट चयन भएको नयाँ कार्यसमिति अनि सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मालाई पनि मुद्दामा विपक्षी बनाएका छन् ।
उनीहरूले पेस गरेको रिट निवेदनमाथि आगामी मंगलबार प्रारम्भिक सुनुवाइको मिति तोकिएको छ ।
























