बाबुरामले फिर्ता लिए उम्मेदवारी, भने ‘देशले चाहेको व्यक्तिलाई सहयोग गर्छु’

काठमाडौं । गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ताको घाेषणा गरेका छन्।

शुक्रबार आफ्नो उम्मेदवारी फिर्ताको घोषणा गरेपछि उनले आवश्यक ठानेको व्यक्तिलाई आगामी निर्वाचनमा सघाउने प्रतिबद्धता जनाएका छन् । साथै निरन्तर जनताको सेवामा लागिरहने बताएका हुन् ।

‘आगामी दिनमा देशले चाहेको अनुसारकै व्यक्तिलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,’ भट्टराईले भनेका छन्, ‘प्रस्थावक र समर्थक साथीहरूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।’

विभिन्न व्यक्ति र दलहरूको आग्रहपछि आफूले उम्मेदवारी फिर्ता लिने निर्णय लिएको उनको भनाइ छ ।

‘मसँग विभिन्न दलका व्यक्तित्वले सल्लाह सुझाव के दिनुभयो भने तपाईंहरूजस्तो व्यक्तिले साझा व्यक्तिको रुपमा रहनुपर्छ । देशको जुन अहिले तरल अवस्था छ त्यसले निश्चित आकार ग्रहण गरेको छैन,’ बाबुरामले थप प्रष्ट पार्दै भने, ‘तपाईंले चुनावी प्रतिस्पर्धामा लाग्नुभन्दा सल्लाह सुझाव दिएर अघि बढ्दा हुन्छ भन्ने साथीहरू, दलको पनि आयो ।’

उनले थपे ‘मैले जीवनभरिको जुन अभिष्ट हो, संघीय लोकतान्त्रिक गणतन्त्रको अवस्था हो । चुनौती थपिएका छन्, तीनको व्यवस्थापन गर्नुछ,’ उनले भनेका छन्, ‘मुख्य रुपमा देशमा तीव्र आर्थिक विकास र समृद्धिको आधारको रुपमा अघि बढ्नुछ । मैले सबैको आग्रह बमोजिम बाहिर रहेर नै दलहरूलाई सघाउने र भोलि आवश्यक पर्ने देशको अभिभावकीय भूमिका निर्वाह गर्नु ठिक हुन्छ भनेर फिर्ता लिने निर्णय गरेको छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here