आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को ‘ग्रे लिस्ट’ बाट जतिसक्दो चाँडो बाहिर निकाल्न सबै क्षेत्र र निकाय जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन्।

‘सम्पत्ति शुद्धीकरण निवारणः पारदर्शिता र वित्तीय सुशासन’ भन्ने मूल नारासहित आज आयोजित सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस, २०८२ का अवसरमा उनले यस्ताे बताएका हुन् ।

अर्थमन्त्री खनालले तोकिएको समयभन्दा अघि नै आवश्यक सबै सुधारका काम सम्पन्न गरी आगामी एक वर्षभित्र नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्नुपर्नेमा जोड दिए ।

उनले अन्तरराष्ट्रिय समुदायले नेपालमाथि कुनै दबाब दिएर वा बाध्य पारेर यी सुधार कार्य कार्यान्वयन गर्न लागिएको नभई, आफ्नै संस्थालाई भ्रष्टाचारमुक्त, पारदर्शी र सुशासनयुक्त बनाउन तथा अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यका साथ यो प्रक्रिया अघि बढाइएको स्पष्ट पारे ।

सम्पत्ति शुद्धीकरण निवारणका लागि भइरहेका सुधार प्रयासले अतिरिक्त आर्थिक दायित्व वा अनावश्यक लागत सिर्जना नगर्ने पनि अर्थमन्त्री खनालको भनाइ थियो । विदेशी लगानी अपेक्षाअनुसार नआउनुको एक कारण वित्तीय प्रणालीप्रतिको विश्वास कमजोर हुनु रहेको उल्लेख गर्दै उहाँले सुधारमार्फत लगानी वातावरण सुधार गर्नुपर्ने बताए ।

एफएटिएफ र एसिया प्यासिफिक ग्रुपले जनवरी २०२७ सम्ममा सुधार गर्नुपर्ने विभिन्न विषयहरू समेटेर सुझाव दिएको उल्लेख गर्दै अर्थमन्त्री खनालले पछिल्लो एक वर्षमा केही सुधार भएको र अबको एक वर्षभित्र बाँकी सबै सुधारका काम पूरा गर्नुपर्ने आवश्यकता औँल्याए । उनले २०२६ को अन्त्यतिर सबै सुधार कार्य सम्पन्न हुने अपेक्षा व्यक्त गरे ।

सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित मुद्दामा अनुसन्धान, अभियोजन र कारबाही प्रक्रियालाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिँदै अर्थमन्त्री खनालले प्रमाणसहित बलियो मुद्दा तयार गरी तत्काल सम्पत्ति जफत गर्ने व्यवस्था मिलाउनुपर्ने बताए ।

वित्तीय बजार मात्र नभई पुँजीबजारमा समेत पारदर्शितासम्बन्धी समस्या रहेको आशङ्का व्यक्त गर्दै उहाँले यही कारण माघ १ गतेदेखि रु पाँच लाखभन्दा बढीको व्यावसायिक कारोबार बैंकिङ प्रणालीमार्फत मात्र गर्नुपर्ने व्यवस्था लागू गरिएको जानकारी दिए । निजी क्षेत्रबाट यस व्यवस्थाले समस्या सिर्जना गरेको भनिए पनि नगद कारोबारको सीमा नबढाइने अर्थमन्त्री खनालले स्पष्ट पारे।

कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले नेपालको वित्तीय स्वच्छता र सुशासनका लागि विश्वव्यापी रूपमा देखिएका कानुनी, नीतिगत तथा संस्थागत चुनौतीहरूलाई थप प्रभावकारी ढङ्गले सम्बोधन गर्नुपर्ने बताए । उनले हालको अवस्था चुनौती मात्र नभई आत्मसमीक्षा र थप सुधारका लागि अवसरसमेत भएको उल्लेख गरे ।

कानुनी तथा संस्थागत सुधारका काम अघि बढिरहेका उल्लेख गर्दै मन्त्री सिन्हाले अब प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बेला आएको बताए । ग्रे लिस्टबाट बाहिर निस्कन २०८३ माघसम्म गर्नुपर्ने कार्ययोजना तय भइसकेको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा सबै निकाय र क्षेत्रले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा उहाँले जोड दिए ।

महान्यायाधिवक्ता सविता भण्डारीले सम्पत्ति शुद्धीकरण निवारणका लागि नेपालले अन्तरराष्ट्रियस्तरमा स्पष्ट नीतिगत प्रतिबद्धता जनाएको बताउनुहुँदै यस विषयलाई उच्च प्राथमिकतामा राखी सम्बन्धित कानुनको तर्जुमा तथा प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिइएको जानकारी दिए ।

कार्यक्रममा बोल्नुहुँदै महान्यायाधिवक्ता भण्डारीले एफएटिएफका मापदण्डअनुसार जोखिममा आधारित अनुगमन तथा नियमन प्रणाली लागू गर्नुपर्नेमा जोड दिए । परम्परागत अनुसन्धान शैली मात्र पर्याप्त नरहेको उल्लेख गर्दै उहाँले अनुसन्धान र अभियोजन प्रक्रियालाई थप प्रभावकारी, प्रमाणमा आधारित र परिणाममुखी बनाउनुपर्ने आवश्यकता औँल्याए।

उहाँले ग्रे लिस्टबाट बाहिर निस्कन महान्यायाधिवक्ताको कार्यालयबाट गर्नुपर्ने भनी तोकिएका कार्यहरू प्रभावकारी रूपमा सम्पादन भइरहेको जानकारी दिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले नेपाल ग्रे लिस्टमा रहेको अवस्थामा अन्तरराष्ट्रिय वित्तीय संस्थाहरूले नेपालसँगको कारोबारमा कडाइ गर्नसक्ने चेतावनी दिए । यसले देशभित्र गम्भीर सामाजिक तथा आर्थिक समस्या सिर्जना गर्न सक्ने मात्र नभई अन्तरराष्ट्रियस्तरमा नेपाली नागरिकको यात्रामा कडाइ, रेमिट्यान्स तथा अन्य अन्तरराष्ट्रिय कारोबारको लागत बढ्न सक्ने चुनौती रहेको उल्लेख गरे ।

ग्रे लिस्टमा पर्नु भनेको वित्तीय अपराध नियन्त्रणमा नेपालको कमजोरीका रूपमा अन्तरराष्ट्रिय समुदायले बुझ्ने भएकाले यसबाट बाहिर निस्कन प्रभावकारी सुधार अपरिहार्य रहेको डेपुटी गभर्नर मिश्रको भनाइ थियो ।

यसैगरी, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले सम्पत्ति शुद्धीकरण निवारण कुनै एक निकायको मात्र जिम्मेवारी नभई अर्थतन्त्रसँग जोडिएका सबै निकायको सामूहिक प्रयास आवश्यक पर्ने बताए । उनका अनुसार यस क्षेत्रमा ५० भन्दा बढी सरकारी निकाय र ८० हजारभन्दा बढी सूचक संस्थाहरू संलग्न रहेका छन् ।

महानिर्देशक ठाकुरले कूल गार्हस्थ्य उत्पादनको तीनदेखि पाँच प्रतिशतसम्म आतङ्ककारी गतिविधि र अवैध कारोबारसँग सम्बन्धित हुनसक्ने जोखिम औँल्याउँदै नेपालको अर्थतन्त्र अझै नगदमा आधारित, अनौपचारिक अर्थतन्त्रको हिस्सा ठूलो, आधुनिक प्रणालीको प्रभावकारी नियमन गर्न नसकिएको, दक्ष जनशक्ति र प्रविधिको अभाव तथा कानुन बने पनि कार्यान्वयन कमजोर रहेको समस्या रहेको बताए ।

घरजग्गा कारोबार तथा सुनचाँदी कारोबारका क्षेत्रमा सम्पत्ति शुद्धीकरणको जोखिम बढी रहेको उल्लेख गर्दै जोखिममा आधारित प्रणाली कार्यान्वयन, कानुनी सुधार तथा अद्यावधिक, अनुसन्धान निकायबीच समन्वय र सहकार्य, अन्तरराष्ट्रिय समन्वय विस्तार, आधुनिक प्रविधिबाट हुने अपराध न्यूनीकरण, एकीकृत सूचना साझेदारी प्रणाली निर्माण, डिजिटल अर्थतन्त्रको नियमन तथा साइबर अपराध नियन्त्रणमा विशेष जोड दिनुपर्ने आवश्यकता औँल्याए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here