म्यानमारमा अनलाइन स्क्यामिङ्गमा संलग्न चार नेपालीलाई स्वदेश फर्काइयाे

काठमाडौं । म्यानमारमा सञ्चालिन अनलाइन स्क्यामिङ्ग केन्द्रहरुमा संलग्न चार जना नेपाली नागरिकलाई नेपाल एयरलाईन्सको उडान मार्फत नेपाल फर्काइएको छ। थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको म्यावडी क्षेत्रबाट उद्धार गरी टाक इमिग्रेसन अफिस, मेसोट हुँदै नेपाल फर्काइएका हुन्।

नेपाल फर्काईएका चार जनामध्ये एक जना महोत्तरी जिल्ला, एक जना नुवाकोट जिल्ला र दुई जना दाङका छन्। चारै जनाले स्नातक तहसम्मको अध्ययन पूरा गरेका छा्। तीमध्ये एक जनाले थाईल्याण्डमै स्नातक तहको अध्ययन गरी होटलमा रिसेप्सनिष्टको रूपमा कार्यरत थिए । उनिहरु धेरै आम्दानीको प्रलोभनमा परी म्यानमार गएको जानकारी दिइएकाे छ। दाङका अर्काे एक जनाले दाङ जिल्लाकै एक सरकारी कार्यालयमा केही वर्ष कम्प्युटर अपरेटरको रूपमा काम गरेको अनुभव रहेको बताए ।

उनीहरू सबै थाइल्याण्डमा डाटा इन्ट्रि अफिसरको रूपमा काम गर्ने भनिएर नेपालबाट ल्याइएका तर थाइल्याण्ड आइपुग्नेबित्तिकै जबर्जस्ती म्यानमार पुर्‍याइएको बताइएका छन्। यस घटनाले उच्च शैक्षिक योग्यता हासिल गरेका नेपाली नागरिकहरू समेत सामाजिक सञ्जाल, साथीभाइ, आफन्त तथा आकर्षक विज्ञापनको ललाईफकाईमा परी धेरै कमाउने लोभमा फस्ने वा फसाइने गरेको देखिएको छ।

यसैगरी, अनलाइन स्क्यामिङ्गसम्बन्धी यस्ता गैरकानुनी गतिविधिमा नेपाली नागरिकलाई संलग्न गराउने कार्य कम्बोडियामा पनि बढ्दो क्रममा रहेको देखिएको छ। दैनिक रूपमा त्यस्ता स्थानमा फसेका नेपाली नागरिक वा उनीहरूका परिवारजनबाट उद्धारको लागि अनुरोध गर्दै राजदूतावासमा सम्पर्कमा आउने गरेकाे छ ।

दूतावासले उनिहरुकाे उद्धारको लागि आवश्यक कन्सुलर सेवा प्रवाह गरिरहेको जानकारी दिएकाे छ। यसरी निजहरु नेपाल फर्कने क्रममा कम्बोडियाको अध्यागमन कानून अनुसार निजहरुले धेरै मात्रामा दण्ड जरिवाना तिर्नुपर्ने, लामोसमय सम्म जेल बस्नुपर्ने समेत भईरहेको छ।

थाइल्याण्ड जाने नाममा म्यानमार, कम्बोडिया तथा लाओसको गोल्डेन ट्रायङ्गल क्षेत्रमा सञ्चालनमा रहेका स्क्यामिङ्ग केन्द्रहरूमा पुर्‍याइने जोखिम उच्च रहेको हुँदा राम्रो कमाइको प्रलोभनमा नपर्न सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई नेपाली राजदूतावास, बैंकक हार्दिक अनुरोध गर्दछ। स्वयं नजाने, साथै आफ्ना परिवारका सदस्य, गाउँ छिमेक, साथीभाइलाई समेत सतर्क रहन यो सूचना व्यापक रूपमा प्रवाह गर्न अनुरोध गरिएको छ। साथै, आमसञ्चार माध्यम तथा नागरिक समाजलाई समेत यस सचेतनामूलक सन्देशको प्रचार–प्रसारमा सहयोग गर्न अनुराेध गरेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here