निगमले भन्याे ‘खाना पकाउने ग्यास मागभन्दा बढी आपूर्ति भइरहेको छ, अनावश्यक सञ्चय नगर्नुस्’

२१ माघ, काठमाडौं । पछिल्लो समय बजारमा खाना पकाउने एलपी ग्यास अभाव भन्दै फैलिएको हल्ला निराधार रहेको नेपाल आयल निगमले जनाएको छ ।

निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले तथ्यांक सार्वजनिक गर्दै देशमा ग्यास आपूर्ति मागभन्दा बढी भइरहेको जानकारी दिएका हुन् ।

उनले उपभोक्तालाई नआत्तिन पनि आग्रह गरेका छन् ।

कार्यकारी निर्देशक भट्टका अनुसार नेपालमा दैनिक औसत ९० बुलेट (करिब १ लाख १४ हजार सिलिन्डर) ग्यासको माग रहेको छ । उनका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पछिल्ला दिनमा उक्त परिमाणभन्दा धेरै बढी ग्यास लोडिङ भइरहेको छ।

भट्टले गत शनिबार १ सय १८ बुलेट अर्थात् १ लाख ४९ हजार ५ सय सिलिन्डर ग्यास लोडिङ भएको बताए । त्यसैगरी सोमबार १ सय १५ बुलेट अर्थात् १ लाख ४५ हजार ७ सय सिलिन्डर र मंगलबार १ सय ३२ बुलेट अर्थात् १ लाख ६७ हजार ३ सय सिलिन्डर ग्यास लोडिङ भएको उनको भनाइ छ ।

लोडिङ भएका यी बुलेटमध्ये केही नेपाल भित्रिसकेका र केही बाटोमै रहेको जानकारी उनले दिए । साथै आगामी चुनाव अवधिभरि पनि यसैगरी नियमित ग्यास आपूर्ति भइरहने दाबी गरे । ग्यास आपूर्ति सहज र पर्याप्त रहेकाले बजारमा अभाव हुन सक्ने त्रासका कारण घरमा अनावश्यक रूपमा सिलिन्डर स्टक नगर्न निगमले उपभोक्तालाई विशेष अनुरोध गरेको छ ।

अनावश्यक सञ्चयले बजारमा कृत्रिम दबाब मात्र सिर्जना गर्ने निगमले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here