गाेलि चलाएर ६५ तोला सुनसहित एक व्यक्ति पक्राउ

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–६ महाँकालबाट ६५ तोला सुनसहित एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाँके घर भएका प्रेम चौधरी छन् ।

काठमाडौंका विभिन्न स्थानमा भएका श्रृंखलाबद्ध चोरीका घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी चौधरीलाई पछ्याउँदै गएराति विशेष सूचनाको आधारमा नागार्जुन नगरपालिका क्षेत्रमा पुगेको थियो ।

गतराति करिब साढे ११ बजे चौधरीलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमण भएपछि गोली चलाएर नियन्त्रणमा लिएको हाे।

त्यसक्रममा एक जना प्रहरी हबल्दार पनि सामान्य घाइते भएका प्रहरीले जनाएको छ । पक्राउ परेका चौधरीको खुट्टामा गोली लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

चौधरीको साथबाट ६५ तोला सुन, केही चाँदी, नगद र घरेलु हतियार समेत बरामद भएको प्रहरीले जनाएको छ ।

हालै भोटेबहालमा २५ तोला, बौद्ध टुसालमा एक घरबाट एक करोडभन्दा बढीको र कालिमाटी र ललितपुरका केही स्थानमा पनि नगद र गरगहना चोरीका घटना भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here