काठमाडौं । प्रतिनिधिसभा निर्वाचनलक्षित जुलुस, आमसभा वा भेला गर्नुअघि अनिवार्य रूपमा अनुमति लिन स्याङ्जा प्रशासनले आग्रह गरेको छ । निर्वाचन आयोगद्वारा जारी निर्वाचन आचारसंहिताअनुसार चुनावी प्रचारप्रसार कार्यक्रम गर्नुअघि अनिवार्य अनुमति लिन जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आह्वान गरेको हो ।

आयोगले निर्वाचनका लागि फागुन ४ गते बाट जुलुस, आमसभा, कोणसभा तथा घरदैलो कार्यक्रम सञ्चालन गर्न पाइने भनेकाेमा दल तथा उम्मेदवारले त्यसअघि नै प्रचारप्रसार थालिसकेका छन् ।

जिल्ला प्रशासन कार्यालयले राजनीतिक दल, उम्मेदवार र भातृ संगठनहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गरेको छ । विशेषगरी सार्वजनिक स्थलमा कुनै पनि प्रकारको जुलुस वा सभा आयोजना गर्नुभन्दा कम्तीमा २४ घण्टा अगावै मिति, समय, मार्ग र स्थान खुलाएर जानकारी गराइ अनुमति लिन आग्रह गरेकाे छ ।

अनुमतिका लागि दल वा उम्मेदवारका अख्तियारप्राप्त प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय स्याङजामा निवेदन दिन सक्ने छन् । साथै कार्यालयको इमेल ठेगानामार्फत पनि निवेदन दर्ता गर्न सकिने स्याङ्जा प्रशासनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here