काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद एयर बेसमा क्षेप्यास्त्र प्रहार गरेको कतारको रक्षा मन्त्रालयले त्यसको पुष्टि गरेको छ ।
कतारको राजधानी दोहाको दक्षिण पश्चिममा अवस्थित अल–उदैद एयर बेस मध्यपूर्वस्थित अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डा हो ।
कतारको रक्षा मन्त्रालयले जारी गरेको वक्तव्यमा इरानबाट मंगलबार राति प्रहार गरिएका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरिएको हाे। तीमध्ये एउटा क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीले रोकेको र अर्को राजधानी दोहाको दक्षिणपश्चिममा अवस्थित अल उदैद सैन्य अड्डामा खसेको उल्लेख छ । त्यसबाट मानवीय क्षति नभएको मन्त्रालयले जनाएको छ ।
कतारी सशस्त्र बलसँग देशको सार्वभौमसत्ता र भू–भागको सुरक्षा सुनिश्चित गर्ने पूर्ण क्षमता रहेको र कुनै पनि बाह्य खतराप्रति कडा जवाफ दिन तयार रहेको पनि मन्त्रालयले जनाएको छ ।
यसैबीच मन्त्रालयले नागरिक, बसोबास गर्ने विदेशी तथा आगन्तुकलाई शान्त रहन, आधिकारिक निर्देशन पालना गर्न र हल्लाको सट्टा प्रमाणित सूचनामा भर पर्न आग्रह गरेको छ ।
शनिबार अमेरिका र इजरायलले इरानमाथि व्यापक आक्रमण सुरु गरेर सर्वोच्च नेता अली खामेनीको ज्यान लिएपछि इरानले पनि मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डामा लक्षित गरी आक्रमण जारी राखेपछि तनाव चुलिएको छ । उक्त आक्रमणमा करिब ८०० जनाको ज्यान गइसकेको जनाइएको छ ।
























