काठमाडौं । आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ हुँदैछ । संसद् सचिवालयका अनुसार दिउँसो २ बजे पद तथा सपथ ग्रहण
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचित सदस्यलाई शपथ गराउनेछन् ।
गत ११ माघमा भएको निर्वाचनबाट १८ जना सदस्य निर्वाचित भएका थिए । ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन्छ ।
संसद् सचिवालयले शपथमा आउँदा औपचारिक वा आफ्नो पहिचान झल्कने पोशाकमा आउन नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूलाई भनेको छ ।
उनीहरूले निर्वाचन आयोगबाट प्राप्त राष्ट्रिय सभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी एक/एक प्रति लिएर जानुपर्छ ।
नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी अनुवादको एक प्रति २४ फागुनसम्म संसद् सचिवालयमा उपलब्ध गराउनुपर्ने बताइएकाे छ।
यही २० फागुनमा कार्यकाल सकिएका १९ मध्ये १८ पदका लागि गत ११ माघमा निर्वाचन भएको हो । एक जना राष्ट्रपतिबाट मनोनित सांसद भएकोमा उनको ठाउँमा सरकारको सिफारिसमा राष्ट्रपतिले नै मनोनीत गर्नेछन् ।
राष्ट्रिय सभा सदस्यमा निर्वाचित महन्थ ठाकुर, रामकुमारी झाँक्री, सुनिलबहादुर थापा र ललितजंग शाही छन्।
मधेश प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित ८३ वर्षीय महन्थ ठाकुर विघटित प्रतिनिधिसभा सदस्य थिए ।
























