मातृका यादवलाई निर्वाचित भएको प्रमाणपत्र नदिएकोमा नेकपाकाे आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले धनुषा-१ का उम्मेदवार मातृकाप्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण नगरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गरेको छ ।

धनुषा १ मा मतगणना भइसकेपनि आयोगले गणना सार्वजनिक गरेको छैन । यहाँबाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका किशोरी साह कमलको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपनि मतपत्रमा भने रास्वपाको चुनाव चिह्नमा बहुमत मत देखिएकाे छ ।

उम्मेदवारी खारेजको निर्णय कार्यान्वयन हुँदा नेकपाका उम्मेदवार मातृकाप्रसाद यादव विजयी घोषित हुनु पर्नेमा आयोगले प्रमाणपत्र नदिएपछि नेकपाले ध्यानाकर्षण गराएको हो । नेकपाको तर्फबाट केन्द्रीय कार्यालयका सचिव गोविन्द आचार्यले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोगको २०८२ फागुन १८ गते सम्पन्न बैठकले निर्वाचन ऐन, २०७४ बमोजिम रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिसकेको अवस्थामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भई मतगणना समेत सकिँदा पनि विजयी उम्मेदवारलाई प्रमाणपत्र प्रदान नगरिनु गम्भीर सरोकारको विषय हो ।’

‘कसैको कानुनसम्मत रूपमा उम्मेदवारी नै खारेज भइसकेको अवस्थामा उम्मेदवार नै नरहेको व्यक्तिसँग सम्बन्धित भनेर प्रमाणपत्र नै वितरण नगर्नु कानुनसम्मत देखिँदैन,’ विज्ञप्तिमा उल्लेख छ, ‘हाम्रो पार्टी निर्वाचन आयोगजस्तो संवैधानिक निकायलाई विधिको शाषन पालना गर्न र कुनै पनि राजनीतिक दवावमा नपरी निष्पक्ष ढंगले काम गर्न आग्रह गर्दछ । साथै न्यायालयले पनि कानून र विधिसम्मतढंगले सही निर्णय गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछ ।’

रास्वपा उम्मेदवार कमललाई बैंक तथा वित्तीय संस्था सम्बन्धी विषयमा कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको प्रमाणित भएपछि १८ फागुनमा बसेको आयोगको बैठकले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here