काठमाडौं । काठमाडौंमा वायुको प्रदूषणले निकै अस्वस्थको तह पार गरेको छ ।
रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) २०६ छ । २०० माथि पुग्नुलाई निकै अस्वस्थ मानिन्छ ।
नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ ।
काठमाडौं आज विहान समग्रमा संसारकै अस्वस्थ शहरमध्ये तेस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा भारतको दिल्ली छ भने दोस्रो स्थानमा बंगलादेशको ढाका रहेका छन् ।
काठमाडौंमा प्रदूषण बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सचेत रहन सबैलाई आग्रह गरेको छ । प्रदूषणबाट मुटु, रक्तनली, फोक्सो, दम, क्यान्सर, आँखा, मिर्गौलालगायतमा समस्या देखिने भएकाले सचेत रहन आग्रह भनिएकाे हाे।



















