काठमाडौं । माघ महिनामा मूल्यवृद्धि बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको वित्तीय विवरणअनुसार माघमा उपभोक्ता मूल्यवृद्धि ३.२५ प्रतिशत रहेको छ । जुन पुसकाे भन्दा बढि हाे। पुसमा २.४२ प्रतिशत मात्रै थियो ।
यता अघिल्लो वर्षको माघको तुलनामा भने यो माघको मूल्यवृद्धि न्यून हो । अघिल्लो वर्षको माघमा उपभोक्ता मूल्यवृद्धि ४.१६ प्रतिशत थियो ।
माघमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि २.५०, गैर–खाद्य तथा सेवा समूहको ३.६६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८२/८३ को सात महिनाको औसत मूल्यवृद्धि जम्मा १.९२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मूल्यवृद्धि ४.८६ प्रतिशत रहेको थियो ।
त्यस्तै साे अवधिमा तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क सबैभन्दा धेरै ११.६३ प्रतिशत बढेको छ । घ्यू तथा तेलको ७.६१ प्रतिशत र फलफूलको ७.४१ प्रतिशतले बढेको छ ।
त्यसैगरी दाल तथा गेडागुडी उप– समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.१९ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको २.९७ र मरमसलाको २.६१ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांक छ ।


















