अनावश्यक रुपमा ग्यास सिलिन्डर होल्डिङ गरेमा कारवाहि गर्ने आयल निगमकाे चेतावनी

काठमाडौं। नेपाल आयल निगमले उपभोक्तालाई इन्धन र खाना पकाउने एलपी ग्यास मितव्ययी प्रयोग गर्न विशेष अपिल गरेको छ। विश्व बजारमा देखिन सक्ने पेट्रोलियम पदार्थको असहज परिस्थिति मध्यनजर गर्दै निगमले बुधबार विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय स्तरमा देखिएको समस्याका कारण भविष्यमा पर्न सक्ने सम्भावित प्रभावबाट बच्न पूर्वसावधानी अपनाउन अनुरोध गरेको हो ।

निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थ र ग्यास आवश्यक परिमाणमा मात्र खरिद गर्न तथा अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ।

मासिक एक सिलिन्डर मात्र ग्यास खपत हुने परिवारले थप सिलिन्डर नभर्न भनेकाे छ। साथै खाना पकाउनका लागि ग्यासको सट्टा विद्युतीय उपकरण प्रयोग बढाउन निगमले सुझाव दिएको छ ।

त्यस्तै इन्धन बचतका लागि सवारीसाधनमा ‘राइड सेयरिङ’ को व्यवस्था मिलाउन र विद्युतका लागि जेनेरेटर जस्ता बढी इन्धन खपत हुने उपकरण प्रयोग नगर्न समेत निगमले उपभोक्तालाई अनुरोध गरेको छ ।

मध्यपूर्वमा देखिएको समस्याका कारण हालसम्म नेपालको आपूर्ति व्यवस्थामा प्रत्यक्ष असर नपरे तापनि नेपाल पूर्णरूपमा आयातमा निर्भर रहेकाले पूर्वतयारी आवश्यक रहेको निगमले बताएको छ। त्यस्तै औद्योगिक क्षेत्रमा पनि इन्धन र ग्यास खपत कम गर्नुपर्नेमा निगमले बताएको छ। हाल आपूर्ति नियमित रहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । निगमले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेहरूमाथि कारबाहीको चेतावनी दिएको छ ।

कसैले अनावश्यक रूपमा ग्यास सिलिन्डर होल्डिङ गरेको, तोकिएभन्दा बढी मूल्य लिएर बिक्री गरेको वा नयाँ सिलिन्डरको अनावश्यक बजारीकरण गरेको पाइए नेपाल सरकारको प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ । आपूर्ति सहज राख्न र भविष्यको जोखिम न्यूनीकरण गर्न निगमले सबै सरोकारवाला पक्षलाई सचेत र जिम्मेवार बन्न आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here