काठमाडौं । आज कोशी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भागका थोरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागमा वर्षाको पूर्वानुमान छ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेकाेले बदली र वर्षा भएको मौसमपूर्वानुमान महाशाखाका मौसमविदहरु बताउँछन् ।
यसैगरी मधेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।
हिजो काठमाडौं उपत्यकासहित देशका मध्य र पूर्वी भेगमा हावाहुरीसहित पानी परेको थियो । सबैभन्दा धेरै पानी चितवनमा परेको थियो । चितवनको नारायणी फिल्ड अफिस केन्द्रमा १२६ मिलिमिटर पानी परेको रेकर्ड छ । यसैगरी लमजुङको घरेढुंगामा १२० मिलिमिटर वर्षा मापन भएको छ ।
उदयपुरको कटारीमा ९८.४ मिलिटर, झापाको चन्द्रगढी विमानस्थलमा ९६.४ मिलिमिटर, गोरखाको बारपाकमा ९० मिलिमिटर, झापाको शनिश्चरेमा ८६.६ र कन्काईमाई चुलीमा ८३.२ मिलिमिटर पानी परेको रेकर्ड छ ।
काठमाडौंका केही ठाउँमा हल्का र छिटफुट वर्षा मापन भएको छ ।
























